सिमरा,सिमरामा मधेश प्रदेश स्तरीय स्क्राबल प्रतियोगिता शुरु भएको छ ।सिमरा पब्लिक इङ्लिस स्कुलको आयोजनामा शुक्रबारदेखि प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको हो ।
दुई दिनसम्म आयोजना हुने प्रतियोगितामा बारा, पर्सा र सिरहा जिल्लाका गरी ५० जना विद्यार्थी सहभागी छन् । प्रतियोगितामा बाराका १४, सिरहाका दुई र पर्साका एक विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनेछ भने तीनै जिल्लाबाट एक उत्कृष्ट खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।
गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको सिमरा पब्लिक इङ्लिस स्कुलका प्रिन्सिपल बसन्त ढकालले जानकारी दिनुभएको छ ।
अमेरिकन पोखरा कर्नर र पोखरा सार्वजनिक पुस्तकालयको सहयोग तथा स्क्राबल क्लबको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एनप्याब्सका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी र आयोजक विद्यालयका प्रतिनिधिले स्क्राबल खेलको महत्वबारे धारणा राखेका थिए ।



















