जानकपुरधाम,सरकारले प्रदेश २ का प्रमुख राजेश अहिराजलाई हटाएको छ । सोमबार बिहानको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अहिराजलाई हटाएर महोत्तरीका हरिशङ्कर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अब मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुहुनेछ । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुुख मिश्र महोत्तरीको पिपरा निवासी हुनुहुनछ ।
सरकारले प्रदेश प्रमुखका लागि नियुक्त गरेको हरिशङ्कर मिश्र नेपाली कांग्रेसका पूर्वनेता हुनुहुन्छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई हटाएर राजेश अहिराजलाई प्रदेश प्रमुखको रूपमा नियुक्त गरेको थियो ।
यसैबीच प्रदेश नम्बर २ मा साढे ३ वर्षको अवधिमा ४ जना प्रदेश प्रमुख परिवर्तन भएका छन् । वि.स. २०७४ साल माघ ३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सातै प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त गर्दा प्रदेश २ मा रत्नेश्वरलाल कायस्थलाई नियुक्त गर्नुभएको थियो ।
पछि २०७६ साल कार्तिक १८ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रदेश प्रमुख नियुक्ति गर्दै प्रदेश २ मा तिलक परियारलाई जिम्मेवारी दिनुभएको थियो । ओलीले २०७७ साल फागुन ७ गते प्रजातन्त्र दिवसकै दिन परियारलाई पनि पदमुक्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।
अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिराजलाई पदमुक्त गरेर कांग्रेस नेता एवम् पूर्व सांसद हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ । मिश्र प्रदेश २ को चौथो प्रदेश प्रमुख हुनुहुन्छ । २००२ सालमा नुभएका मिश्र ५९ वर्षदेखि राजनीतिमा सक्रिय रहदै आउनुभएको छ ।
प्रदेश प्रमुखमा नियुक्त हुनु भएका मिश्र बीपी कोइरालाका समकक्षी कांग्रेसी नेता रामनारायण मिश्रका छोरा हुन् । रामनारायण ०१६ सालमा बीपी नेतृत्वको सरकारमा उद्योगमन्त्री हुुनुहुन्थ्यो ।