मनोज शाह
जीतपुर,बाराको जीतपुरसिरम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जीतपुर बजारमा रहेको दलित समुदायको पहिचानसँग जोडिएको शैलेशबाबा मन्दिरको संरक्षणको लागि स्थानीय दलित समूदायका अगुवाहरुले राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकसंग माग गरेका छन ।दलित सञ्जालका अध्यक्ष राजदेव पासवानसहितको टोलीले जीतपुरमा रहेको दलित समुदायको कुलदेवताको रुपमा रहेको शैलेशबाबा मन्दिरको जमिन स्थानीय केही व्यक्तिहरु मन्दिरको अस्तित्व नै संकट पर्ने गरी जमिन अतिक्रमण गरेपछि संरक्षणको लागि दलित आयोगका अध्यक्ष विकसंग माग गरेको हो ।

सिमरा विमानस्थल हुदै पर्साको एक कार्यक्रममा सहभागी हुन आउनुभएका आयोगका अध्यक्ष विकलाई भेटर आफूहरुले मन्दिर र जमिनको संरक्षणको लागि पहल गरिदिन माग गरेको पासवानले बताउनुभयो ।भेटमा सञ्जालका अध्यक्ष पासवानले दलित समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको अभिबृद्धि र सम्मान गर्न मन्दिरको संरक्षण हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले स्थानीय केही गैह् दलित समुदायका मानिसहरुले मन्दिरको जग्गा अतिक्रमण गर्ने प्रयास गरेको आफूहरुले सो कार्यको विरोध गर्दैआएको पनि बताउनुभएको छ । उहाँका अनुसार मन्दिरको जमिन कब्जा गरेर पर्खाल निर्माण गरिएपछि स्थानीय दलित समूदायले संरक्षणको लागि माग गर्दैआएका छन ।

दलित सञ्जालले शैलेशबाबा मन्दिरलाई दलित समुदायको कुलदेवताको रूपमा मान्यता दिएर यसको संरक्षण र व्यवस्थापनका लागि तत्काल पहल गर्न आयोग अध्यक्ष विकसँग आग्रह गरेको हो । “यो मन्दिर हाम्रो पहिचान हो, यसको संरक्षणको लागि कुनै कसुर बाँकी राख्नुहुन्न ।’ उहाँले भन्नुभयो ।स्थानीय तहका जनप्रतिनिधिहरुले समेत मन्दिर संरक्षणमा चासो नदेखाएपछि आफूहरु निराश बनेको पासवानको भनाई छ । उहाँले पटक पटक ध्यानाकर्षण गराउँदा पनि जीतपुरसिमरा उपमहानगरपालिकाले मन्दिर संरक्षणमा चासो नदेखाएको पासवानको आरोप छ ।

Leave a Reply