निजगढ,उम्मेदवारी दर्ता गर्नेक्रममा विवाद भएपछि रोकिएको नयाँ कार्यसमिति चयन गर्न डिभिजन वन कार्यालय बारा सिमराले निजगढ ८ स्थित श्री बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहलाई पत्र पठाएको छ ।वन कार्यालयले समय सीमानै तोकेर यही भाद्र महीनाको मसान्तसम्म कार्यसमिति चयन गर्न सोमवार पत्राचार गरेको हो ।डिभिजनल वन अधिकृत राजीवकुमार झाले हस्ताक्षर गरेर पठाएको पत्रमा बकैया नागमणी वन समूह कार्यसमितिको अवधि समाप्त भई समूहको कार्यहरु तदर्थ समितिमार्फत सञ्चालन भइरहेकोले तत्काल सो तदर्थ समितिले नयाँ कार्यसमिति गठन गर्न भनिएको छ ।
त्यसैगरी पत्रमा समूहलाई वन संरक्षणको कार्यबाहेक अन्य कार्यहरु रोक्का राखी २०८२ भदौ मसान्तसम्ममा नयाँ कार्यसमिति गठन गरी सो जानकारी कार्यालयमा पठाउनुहुन पनि अनुरोध गरिएको छ ।
वन कार्यालयले आवश्यक सहयोग र सहजीकरणको लागि भन्दै पत्रको बोधार्थ निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, निजगढमा पनि पठाएको छ ।नयाँ कार्यसमिति चयनको लागि पदाधिकारीहरुको मनोनयनपत्र दर्ता गर्ने क्रममा विवाद उत्पन्न भएपछि वन समूहको गत वैशाख २७ गतेको लागि तोकिएको मतदान कार्य रोकिएको थियो ।कार्यसमितिमा नेकपा एमाले, माओवादी र जनमत पार्टीको संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार पवित्रा चौलागाई र लेखा समितिका संयोजक प्रकाश श्रेष्ठको मनोनयन पत्र दर्ताको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक उपभोक्ताहरुले विरोध गरेपछि निर्वाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न सकेको थिएन ।
उम्मेदवारी दर्ता गरिसकेर पनि निर्वाचन समितिमा ढिला गरेर सम्पर्क गर्न आएको भन्दै कांग्रेस समर्थक उपभोक्ताहरुले चौलागाई र श्रेष्ठको उम्मेदवारी रद्द गर्न माग गर्दै नामावली सार्वजनिक गर्न अवरोध गरेका थिए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वन समूहको अध्यक्षमा अर्जुन अधिकारीको नेतृत्वमा २ जना सदस्यहरुलाई उम्मेदवार बनाएको थियो ।
विवदकै बीच तामागढी सबडिभिजन वन कार्यालयका प्रमुख सुरेश भगतले निर्वाचन समितिको प्रमुख पदबाट राजिनामा दिएपछि वन समूहको नयाँ पदाधिकारी निर्वाचनमा अन्यौलमा पर्दैआएको थियो ।


















