जनकपुरधाम,मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको बताएका छन् । ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ ६९ औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधाम, धनुषाद्वारा बुधवार जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी समायोजन ऐन जारी नहुँदा प्रदेश सरकार समस्यामा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मधेस प्रदेशमा करिब ६२ लाख जनसङ्ख्या रहेको छ । यहाँको सुरक्षामा प्रहरीले गरेको भूमिका महत्वपूर्ण रहेको छ तर हामीसँग ऐन छैन, नीतिगत रुपमा काम गर्न सक्दैनौँ । ”

प्रदेशमा लागुऔषधको ओसारपसार, मानव तस्करी, राजस्व चुहावट तथा चोरी, डकैती, साइबर अपराध रोक्न प्रदेश सरकारका लागि ठूलो चुनौतीका रुपमा रहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि प्रहरी सङ्गठनले कडा रुपमा लाग्नुपर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।उहाँले प्रहरी समायोजनसम्बन्धी ऐन नआए पनि प्रदेश सरकार तथा स्थानीय निकायले नेपाल प्रहरी सङ्गठनलाई सक्दो सहयोग गरेकोसमेत जानकारी दिनुभयो । सोही अवसरमा मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले सीमित साधनस्रोतका बाबजुद प्रहरी सङ्गठनले प्रदेशमा शान्तिसुरक्षा तथा सुशासन कायम गर्न खेलेको भूमिका अति महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले देशमा शान्तिसुरक्षा कार्यमा निरन्तर खट्ने प्रहरी सङ्गठनलाई राज्यबाट समयसापेक्ष आधुनिक संरचनामा लैजाने तथा समयसापेक्ष सहयोग आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले प्रहरीले प्रत्येक कार्यमा जनतालाई सहभागी गराउँदै सुशासन दिने किसिमले कार्य गर्नुपर्ने आग्रह गर्नुभयो ।मधेस प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले प्रदेशमा हुने लागुऔषध ओसारपसार, चोरी–डकैती घटना तथा सीमाक्षेत्रमा हुने अवैध कार्य रोक्नु चुनौतीपूर्ण भएपनि सुरक्षा निकाय गम्भीरतापूर्वक लागेको जानकारी दिँदै यो कार्यमा सबैको सहयोग आवश्यक रहेको आग्रह गर्नुभयो । सो प्रहरी दिवसका अवसरमा विभिन्न उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई मुख्यमन्त्री सिहंले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
बारामा मनाइयो प्रहरी दिवस
कलैया,६९औं प्रहरी दिवसको अवसरमा बुधवार बारामा एक कार्यक्रमको आयोजना गरिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराले एक कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कुनै प्रभावमा नपरी काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाई दिन सरकारसंग आग्रह पनि आग्रह गर्नुभयो । उहाँले प्रहरीले नागरिकको सेवामा अहोरात्र खटिरहेको भन्दै प्रहरीको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक महेन्द्र खडकाले नागरिकको विश्वास जित्ने गरी काम गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नागरिकको सुख दुःखको साथी बनेर काम गर्न प्रहरी कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।प्रहरी उपरीक्षक खडकाको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट प्रहरीको रुपमा वरिष्ठ प्रहरी हवलदार विनोद साहलाई नगदसहित सम्मान गरिएको थियो । प्रहरी दिवसको अवसरमा जिल्लाका तीन जना पत्रकारहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने पत्रकारहरुमा साजिर मन्सुर, अजय साह र सन्दिप यादव रहेका छन् ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, पूर्वप्रहरी संगठनका संयोजक जङ्गबहादुर यादव, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहतालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, नेपाली सेनाका अधिकृत, सशस्त्र प्रहरी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।प्रहरी उपरीक्षक खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रहरी प्रवक्ता सापकोटाले राख्नुभएको थियो ।प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवारलाई पनि सम्मान गरिएको थियो ।प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले गर्नुभएको थियो ।


















