बारा,सौतेनी आमाको हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सौतेनी आमाको हत्या गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका( ७ रंगपुर निवासी २५ वर्षीय जयकिशोर यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवले गत भदौ ३० गते सौतेनी आमा तेतरीदेवीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई प्रहरीले शनिवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रहरीले यादवलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार तेतरीले आफ्ना श्रीमान् शिवनारायण यादव र छोरा जयकिशोरसँग पटक(पटक आफ्नो नागकिरता बनाइदिन आग्रह गर्दै आएकी थिइन । तेतरी देवीको करिब ३० वर्ष अगाडि शिवनारायणसँग विवाह भएको थियो । उनीबाट सन्तान भने भएका छैनन । कान्छी श्रीमती र छोरा जयकिशोरले सौतेनी आमाले नागरिकता पाएपछि अंश दिनुपर्ने भन्दै शिवनारायणलाई दबाब दिँदा उनले तेतरीलाई नागरिकता बनाउनमा आलटाल गर्दै आएको अनुसन्धानको क्रममा खुलेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
सोही क्रममा गत भदौ ३० गते घरायसी विवाद हुँदा जयकिशोरले सौतेनी आमाको खुकुरी प्रहार गरी हत्या गरेर फरार भएको उहाँले बताउनुभयो । फरार रहेका उनलाई पर्साको इनर्वाबाट पक्राउ गरिएको बोगटीले जानकारी दिनुभयो । यसअघि घटना भएको भोलिपल्ट भदौ ३१ गते नै उनका बुवा शिवनारायणलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गराइ कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।



















