वीरगञ्ज,अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अधिराज्यव्यापी फिफा फुटबल फर स्कुल लन्च कार्यक्रम–२०८२ अन्तर्गत आज वीरगञ्जको आदर्शनगर रंगशालामा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहभागी सात स्थानीय विद्यालयका छात्र खेलाडीहरूलाई एक समारोहबीच प्रमुख अतिथि तथा एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामाले खेलकुद सामग्री वितरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले अहिलेको पुस्ता मोबाइल तथा डिजिटल उपकरणमा अत्यधिक रमाउने प्रवृत्तिका कारण अटिजमलगायतका स्वास्थ्य समस्याको जोखिममा परेको उल्लेख गर्नुभयो। यही अवस्थालाई मध्यनजर गर्दै फिफाले विश्वका १३२ मुलुक तथा नेपालका ७७ वटै जिल्लामा ‘फुटबल फर स्कुल’ कार्यक्रम सञ्चालन गरी बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उद्देश्य लिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा मुनलाइट, लिटिल फ्लावर, साउथ जोन, बी कन, भूपू सैनिक, गौतम र जनजाति गरी सात विद्यालयका छात्र खेलाडीहरूको सहभागिता रहेको थियो । समारोहको सुरुवातमा मुनलाइट स्कुलका छात्राहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।
पर्सा जिल्ला फुटबल सङ्घका अध्यक्ष अनिल कलवारको सभापतित्वमा सम्पन्न शुभारम्भ कार्यक्रममा एन्फा अध्यक्षका स्वकीय सचिव भीम कोइराला, मधेश प्रदेश फुटबल सङ्घका महासचिव दीपक साह कानु, पूर्व राष्ट्रिय खेलाडी ऋतु शाक्य, पर्सा तथा बारा जिल्ला फुटबल सङ्घका पूर्व अध्यक्ष मनोज भट्टराई, वर्तमान अध्यक्ष रामचन्द्र लामा, प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण पर्सा जिल्ला फुटबल सङ्घका महासचिव विनोद परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष हेमन्त चौरसियाले व्यक्त गर्नुभएको थियो ।



















