बरियारपुर,बोलबम काँवर संघ बाराको ५० औं बार्षिक उत्सवको अवसरमा बुधबार हवन गरिएको छ । कलैयाको ऐतिहासिक राजदेवी मन्दिरको प्राङ्गणमा वैदिक मन्त्र उच्चारणसहित हवन गरी वार्षिक उत्सव मनाईएको हो ।
समाजसेवी एंव सहयोगी संजय श्रेष्ठ र उनको श्रीमती शोभा श्रेष्ठले हवन कार्यक्रम गर्नुभएको थियो । श्रेष्ठ दम्पतिले पूजामा बसेर बैदिक मन्त्रको उच्चारण गरी हवन गर्नुभएको थियो । समाजसेवामा आफुहरु पहिलादेखि नै सक्रिय रहेको र रामनवमीको अवसरमा हवन गर्र्ने अवसर उपलब्ध गराएकोमा संघलाई श्रेष्ठ दम्पतिले धन्यवाद दिनुभएको छ ।
रामनवमीको अवसरमा मन्दिरमा हवन गरि समाजमा शान्ति र कोरोनासँग लडन सक्ने क्षमता प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बोलबम काँवर संघका अध्यक्ष कर्दम श्रेष्ठले जानकारी गराउनुभएको छ ।
विस २०२८ सालमा बोलबम काँवर संघको स्थापना भएको निरज नेपालीले जानकारी गराउनुभएको छ । संस्थापक स्व. सिताराम नेपालीले बोलबम काँवरको अभियान चलाएको नेपालीले बताउनुभयो । त्यसपछि स्व. कपिल श्रेष्ठको अध्यक्षतामा संघ गठन गरिएको थियो । संघमा काशीनाथप्रसाद बैधजी, जगबहादुर यादव र सर्जुग साह कानु लगायतका सहभागी रहनुभएको थियो । स्थापनाकालदेखि नै संघले विभिन्न नदीहरुमा गएर जल ल्याई कलैयास्थित सिद्धेश्वरनाथको मन्दिरमा जलार्पन गर्ने गरेको निरज नेपालीले बताउनुभयो । अहिले शितलपुर, विश्रामपुर, कलैयागाउँ लगायत ९ गाउँमा बोलबम संघ गठन गरिएको छ । संघमा करिव एक हजार भन्दा बढी श्रद्धालुहरुको सक्रिय सहभागिता रहेको छ ।
हाल बोलबम संघमा अध्यक्ष कर्दम श्रेष्ठ, संघ संचालक निरज नेपाली, कार्यवाहक सरोज कृष्णप्रसाद साह, स्वास्थ्य प्रमुख वैध राजेशकुमार गुप्ता, आर्चाय जोगिन्द्र तिवारी र मिडिया प्रमुखमा अजय साह रहनुभएको छ । संघले हवन, योग शिवीर, तिर्थयात्रा, मठमन्दिर सरसफाई, वृक्षारोपण, अनाथ आश्रममा सहयोग जस्ता कार्यहरु गर्दै आएको मिडिया प्रमुख साहले जानकारी गराउनुभएको छ ।