सिमरा,काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकलाई ३÷१ ले पराजित गर्दै फ्रिडम फाइटरले उपाधि जितेको हो ।फ्रिडम फाइटरलाई उपाधि दिलाउने क्रममा भिमबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक÷एक गोल गरे । आयोजका लागि भेषराज लिम्बुले एक गोल गरे ।उपाधि विजेता फ्रिडम फाइटरले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक क्लबका गोपीचन्द भट्ट घोषित भएका छन् ।विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ताको उपाधि प्रतियोगिता अवधिभर १० गोल गरेका विकर्ण श्रेष्ठ घोषित भए । उनी फाइनल खेलको म्यान अफ दि म्याच समेत चुनिए ।यसैगरी ५० वर्ष माथिको उत्कृष्ट खेलाडी फ्रिडम फाइटरका उदयबहादुर गुरुङ्ग ‘काका’, उत्कृष्ट गोलरक्षक फ्रिडम फाइटरका मुकुन्द श्रेष्ठ, उत्कृष्ट मिडफिल्ड फ्रिडम फाइटरका राजकुमार घिसिङ्ग, उत्कृष्ट प्रशिक्षक फ्रिडम फाइटरका सुरज श्रेष्ठ, उत्कृष्ट डिफेन्स आयोजक क्लबका विष्णु सुनार घोषित भएका छन् ।विजेता, उपविजेता र विधागततर्फ उत्कृष्ट खेलाडीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय कृष्णप्रसाद यादव, पूर्वप्रदेशसभा सदस्य शोभा लामा, नेपाली कांग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ता, रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादव, कांग्रेस मधेस प्रदेश उपसभापति चन्द्रशेखर यादव, कांग्रेसका क्षेत्रीय सभापति लोकेश सिंह, एलएस न्युरो अस्पताल वीरगञ्जका संचालक रामप्रवेश प्रसाद कुर्मी, प्रतियोगिता संयोजक हरी चौधरी, आयोजक क्लबका अध्यक्ष राजकपुर राउतलगायतले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रममा भेट्रान खेलाडी गणेश सुनुवारलाई सम्मान गरिएको थियो ।स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा असोज ७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारतका गरी ११ टिमको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सहजीकरण प्रदीप गौतमले गर्नुभएको थियो ।

Leave a Reply