आज फाल्गुन १ गते तत्कालिन नेकपा माओवादीले संचालन गरेको सशस्त्र युद्ध शुुरुवात भएको दिन ।
२०५२ साल फाल्गुन महीनादेखि २०६२ सालसम्म यो देशमा माओवादीको नाउँमा संघर्ष भयो र जसका कारण मुलुकमा ठूलो जनधनको क्षति भयो । माओवादीहरुले यसलाई जनयुद्ध भन्छन् भने संबिधानमा सशस्त्र संघर्ष भन्ने शब्द उल्लेख गरिएको छ ।

यही फागुन १ गते. थियो, यो देशमा कयौंको ज्यान लिने दिनको शुरुवात अनि कतिको राजनीति चम्कने दिन । मुख्यत माओवादीका अध्यक्षसहितका धेरैलाई जनयुद्धले निकै फाइदा गरेको छ । जसरी भएपनि शान्ति प्रक्रियामा आएपछि माओवादीका शीर्ष नेताहरुले सत्ताको स्वाद राम्रैसंग लिएका छन ।

यो हिसावमा उनीहरुका लागि सशस्त्र संघर्ष जनयुद्ध नै होला अनि माओवादीबाट प्रभावितहरुका लागि यो जनयुद्ध कसरी हुन सक्ला र ? माओवादीले जनयुद्धको नाउँमा केही जाली फटाहा भन्दै सर्वसाधारणहरुको ज्यान लिएको छ । गरिब सेना, प्रहरीको ज्यान लिएको छ । उनीहरुका परिवारले यसलाई जनयुद्ध मान्छन् कि मान्दैनन् भन्ने कुरा मुख्य हो । युद्धमा लडाई हुदा दुुबैतिर क्षति हुनु स्वभाविक भनेर कतिपयले भनेको सुनिन्छ । तर मृत्यु केवल तल्लो तहका नागरिकहरुको बढी भएको छ ।

माओवादीले संचालन गरेको यो युद्धले केही राजनीति परिवर्तन र चेत पनि दिएको छ तर यतिको राजनीतिक परिवर्तनका लागि त्यत्ति धेरै मानिसको हत्या अनि भौतिक सम्पत्तिको नष्ट गर्न आवश्यक थिएन । अहिले रहेका सबै दलले माओवादीले भनेको जस्तो जनयुद्ध भनेको भए वा मानेको भएपनि ठीकै हुन्थ्यो । काँग्रेस, एमाले यो मान्न तयार छैनन् । अनि फागुन १ गते कहिल्यै नेपालीका लागि जनयुद्ध दिवस हुने संभावना देखिदैन अनि यसले दिएको घाऊ पनि केही नेपालीका लागि बिर्सने सकिने अवस्था छैन अनि कसरी फागुन १ गते सबैका लागि प्रिय होला र ?

Leave a Reply