वीरगञ्ज,केही दिन अगाडि शङ्कास्पद अवस्थामा मृत भेटिएकी पर्सागढी नगरपालिकाकी २१ वर्षीय सुनिता स्याङ्बो (तामाङ) को परिवारलाई जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक सहयोग गरेको छ ।
गत मङ्सिर २७ गते वीरगञ्ज– १० स्थित मारवाडी धर्मशालाको तेस्रो तल्लाको कोठा नम्बर १०४ मा भाडामा बस्दै आएकी पर्सागढी नगरपालिका– ३ की सुनिता स्याङ्बोको शव शङ्कास्पद अवस्था फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले मृतककी आमा कान्छीमाया स्याङ्बोलाई जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समितिको कोषबाट नगद ५० हजार पाँच रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
प्रहरीले सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ । मृतकको परिवारमा एकल महिला आमा बाहेक अन्य सदस्य नरहेको र परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय रहेको जनाइएको छ ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



















