नरेश गुप्ता
बरियारपुर,संरक्षण नेपाल बाराको सहजीकरणमा संचालित बाल हेल्पलाइन नम्बर १०९८ नेपाल बाराले भारतको मोतिहारीबाट बाराका एकजना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ६ मझरियाका बुनिलाल दास तात्माको १६ बर्षिय छोरा किशोरी दास तात्मालाई भारतको मोतिहारीबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्राको उपस्थितिमा परिवारको जिम्मा लगाइएको हो ।
एक वर्ष अगाडि भारतको मोतिहारीको एक होटलमा काम गर्ने क्रममा भारतीय प्रहरीले नियन्त्रणमा लिएर बालश्रम विरुद्धको मुद्दामा उनलाई बालगृह मोतिहारीमा राखिएको थियो । भारतको समाज कल्याण विभाग पटनाबाट कानुनी प्रकिया पुरा गरेपछि मंगलबार बाल हेल्पलाइन नम्बर १०९८ बाराको टोलीले बालकलाई नेपाल ल्याएको थियो ।
बालकको उद्धारको लागि अभिभावकले गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदको सहयोग र संरक्षण नेपाल बाराको सहजीकरणमा बाल हेल्पलाईन नं १०९८ नेपाल बारालाई अनुरोध गरेपछि उद्धारको पहल शुरु गरिएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले जानकारी दिनुभयो । बालकलाई एक महिनासम्मको निरन्तर प्रयासपछि उद्धार गर्न सफल भएको अभिभावकको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन, जिल्ला प्रहरी, सुवर्ण गाउँपालिका र बाल हेल्पलाइनको सकृयतामा बालकलाई अभिभावकको जिम्मा लगाएर संरक्षण नेपालले प्रशंसनीय कार्य गरेको प्रहरी नायब उपरीक्षक गौतम मिश्राले बताउनुभयो ।
उद्धार गरिएका बालकलाई प्रहरी, संचारकर्मी, अधिकारकर्मी तथा बाल हेल्पलाइनका कार्यकर्र्ताहरुको रोहबरमा परिवारको जिम्मा लगाइएको संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार कुशवाहाले बताउनुभयो ।