कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाँउपालिकामा गाउँपालिका अध्यक्ष अनोज चौधरीको असहमतिका बाबजुद प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीले आजदेखि कार्यालयको कार्यभार सम्हाल्नु भएको छ ।जिराभवानी गाउँपालिकाको अध्यक्ष चौधरीको असहमतिका बाबजुद गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीसहित कार्यापालिका सदस्यहरुको टोलीले प्रमुख प्रशासकीय अधिकृत गिरीलाई कार्यालयमा स्वागत गरेर हाजिरी गराएका हुन ।
प्रमुख प्रशासकीय अधिकृत गिरीको आफ्नो पालिकामा सरुवा भएको सूचना पाएपछि अध्यक्ष चौधरीले सामाजिक संजाल फेसबुकमा विज्ञप्ति निकालेर कुनै पनि हालतमा कार्यालयमा हाजिर हुन नदिने बताउनुभएको थियो । गिरी हाजिर हुन आउने जानकारी पाएपछि अध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित कार्यालयको अन्य शाखामा पनि तालाबन्दी गर्नुभएको थियो । उपाध्यक्ष चौधरीसहितको टोलीले कार्यालयको ताल्चा फुटाएर गिरीको स्वागत गरेका हुन । अधिकृत गिरी शुक्रवार नै दिन हाजिर हुने आउने जानकारी पाएपछि गाउँपालिका कार्यालयका सबै कक्षको साँचो अध्यक्ष चौधरीले आफ्नो नियन्त्रणमा लिएको एकजना कार्यपालिका सदस्यले जानकारी दिएका छन ।
कार्यलय भवनको ‘बी’ ब्लकमा रहेको कोठाको ताल्चा फुटाएर कृषि शाखामा प्रमुख प्रशासकीय अधिकृतलाई उपाध्यक्ष रेखा चौधरीको नेतृत्वमा अधिकृत गिरीलाई फूल माला र खादा ओढाइ स्वागत गरिएको थियो ।
स्वागत कार्यक्रममा वडा अध्यक्षहरु महादेवप्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्या, वडा सदस्यहरु, लेखा र प्राविधिक शाखाका कर्मचारी तथा वडा कार्यालयका कार्मचारीहरुको सहभागिता रहेको थियो ।
यसअघि जिल्लाको कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका गिरीलाई सामान्य प्रशासन मन्त्रालयले गत मंसिर २९ गते जिराभवानी गाउँपालिकामा सरुवा गर्ने निर्णय गरेको थियो ।त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको भने कालिकामाई गाउँपालिकामा सरुवा भएको छ ।यसैबीच आफ्नो सहमति बिना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको भन्दै गाउँपालिका अध्यक्ष चौधरीले आज प्रेस विज्ञप्ति निकालेर विरोध जनाउनुभएको छ । अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘मन्त्रालयमा ३ पटकसम्म म आफै उपस्थित भइ असार महिनासम्म सरुवा नगर्नु बारम्बार जानकारी गराए पनि मन्त्रालयको मिति २०८२-०८-२९ गतेको निर्णय बमोजिम कलिकामाई गाउँपालिका, पर्सामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरिको यस गाउँपालिकामा बिना सहमति सरुवा भएकोमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा अध्यक्ष चौधरीले मन्त्रालयका कर्मचारीहरुले चलखेल गरेर कर्मचारी सरुवा गरेकोभन्दै हाजिर गराउन नसकिने पनि बताउनुभएको छ । ‘जिरभावानी गाउँपालिकाको स्थापनाकालदेखि लगभग ८ वर्षको अन्तरालमा सोहि अधिकृत बारम्बार पाँच पटकसम्म सरुवा गराई आउनु सुशासनको लागि निकै गम्भीर विषय भएको तथा मन्त्रालय तहमा पनि चलखेल गरि प्रभाव पारेको अनुमान गर्न सकिन्छ । सो अधिकृतलाई जुनसुकै परिस्थितमा यस कार्यालयमा हाजिर गराउन नसकिने व्यहोरा अनुरोध छ ।’उहाँले गिरी बाहेक बाहेक अरु जुनसुकै अधिकृत पनि गाउँपालिकामा स्वीकार्य हुने बताउदै निर्णय सच्च्याई अर्को प्रशासकीय अधिकृत सरुवा गरिदिन पनि मन्त्रालयसंग अनुरोध गर्नुभएको छ । ‘अन्यथा आउने परिस्थितको जिम्मेवार स्वयम मन्त्रालय नै हुने जानकारी गराउँछु ।’ अध्यक्ष चौधरीले हस्ताक्षर गरेर जारी गरेको प्रस विज्ञप्तिमा उल्लेख छ ।



















