वीरगञ्ज,वीरगन्ज उद्योग वाणिज्य संघले बारा–पर्सा औद्योगिक करिडोरका आधा दर्जन उद्योगहरुमा २४ घण्टाभित्र पुनः विद्युत् लाइन जोडिदिन माग गरेको छ ।संघले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अनिलकुमार अग्रवालले उद्योगहरुको विद्युत् लाइन काटिएका कारण मुलुकभरि भइरहेको भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरुसमेत अवरुद्ध भइरहेकाले उद्योगहरूमा २४ घण्टाभित्र आपूर्ति गरिनु पर्ने माग गर्नुभयो ।‘यसो नगरेमा मन्दीको मारले थलिएका ती उद्योगहरू सधैंको लागि बन्द हुनसक्ने र त्यहाँ कार्यरत २० देखि २५ हजार श्रमिकले रोजगारी गुमाउने दिन टाढा छैन,’ उहाँले भन्नुभयो, ‘ती उद्योगहरूमा लगानी गरेका बैंकसमेत समस्यामा पर्नेछन् भने समग्र अर्थतन्त्रमा यसबाट गम्भीर नकारात्मक असर पर्न जाने निश्चित छ । उहाँले विद्युत् महसुलमा नेपाल विद्युत् प्राधिकरणको असान्दर्भिक र अव्यवहारिक नीतिका कारण यतिबेला औद्योगिक ग्राहकहरू अन्याय र अन्योलमा परेको भन्दै प्राधिकरणले हालसम्म २३ वटा उद्योगको लाइन काटिसकेको र तीमध्ये पर्सा÷बारा औद्योगिक कोरिडोरका ठूला उद्योगहरू पनि रहेको बताउनुभयो ।
‘लाइन काटिएका उद्योगको उत्पादन बन्द हुँदा कामदार कर्मचारीहरू सडकमा उत्रिएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक मन्दीले उद्योग व्यापार धराशायी हुने अवस्थामा पुगेको बेला यसले एकातिर उत्पादनलाई थप अनिश्चित बनाएको छ भने अर्कातिर औद्योगिक वातावरण बिगार्ने जोखिम बढेको छ । संघका द्वितीय उपाध्यक्ष माधव राजपालले उद्योगीहरूले डेकिकेटेड र ट्रंकलाइनबाट खपत गरेको महसुल कहिल्यै तिर्दैनौं नभनेको बताउनुभयो । उपभोग नै नगरेको विद्युत्को महसुल जबर्जस्ती तिराउन खोजिनु अन्यायपूर्ण हो भन्नेमा मात्रै निजी क्षेत्रको अडान रहेको उहाँले बताउनुभयो ।यसैबीच बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ ।बिल तिरेपछि उक्त उद्योगको लाइन समेत जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योगहरुले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिलको बक्यौता रकम तिर्न थालेका छन् । बक्यौता रकम तिर्ने उद्योगको विद्युत् लाइन पुनः जोडिन थालिएको छ । हिमाल स्टिलले बक्यौता रकमको पहिलो किस्ताबापत सोमवार २७ लाख १० हजार रुपैयाँ बुझाएको छ ।हिमाल स्टिलको ८ करोड १२ लाख रुपैयाँ बक्यौता छ । उद्योगले पहिलो किस्ता बापतको बक्यौता रकम बुझाएपछि विद्युत् लाइन जोडिएको विद्युत् प्राधिकरणले जनाएको छ ।हिमाल स्टिलले २६ किस्तामा रकम तिर्न सकिने जानकारी प्राधिकरणलाई दिएको छ । शुक्रवार नै विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाउने निर्णय गरेको थियो ।उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरणको बोर्ड बैठकले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरेको हो ।


















