नरेश गुप्ता,बरियारपुर,बाराको आदर्श कोतवाल गांउँपालिका वडा नम्बर १ स्थित श्रीरामचरित्र महेन्द्र आदर्श विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका सद्स्यबीच कुटाकुट भएको छ । विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद साह र विद्यालय व्यवस्थापन समितिका सद्स्य रुपेन्द्र कुशवाहाबीच विद्यालय प्राङ्गणमा कुटाकुट भएको हो । समितिका सद्स्य कुशवाहाले व्यवस्थापन समितिमा निर्वाचित चार जना सद्स्यहरुलाई मात्र बैठकमा बोलाउनु पर्ने अडान राखेको भए पनि प्रधानाध्यापक साहले विद्यालय व्यवस्थापन समिति गठनको लागि ९ जना पदाधिकारीलाई बैठकमा बोलाएपछि दुबैबीच बिवाद शुरु भएको हो । बिवादको क्रममा विद्यालय व्यवस्थापन समितिका सद्स्यले कार्यालयभित्र रहेका फर्निचर तोडफोड गरेको प्रधानाध्यापक साहले बताउनुभयो । विद्यालय संचालन भएकै बेला विद्यालयभित्र शिक्षकमाथि भएको कुटपिट र फर्निचर तोडफोडको घटनापछि ईलाका प्रहरी कार्यलय महेन्द्र आदर्श चिउटाहा र ईलाका प्रहरी कार्यलय बारागढीको टोलीले प्रधानाध्यापक साह र व्यवस्थापन समितिका सद्स्य कुशवाहालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कलैयामा पठाइएको प्रहरीले जनाएको छ । यसैबीच विद्यालयमा भएको तोडफोड र शिक्षकमाथि भएको हातपातको भ्रत्सना गर्दै शिक्षक संघ बाराका अध्यक्ष परमहंश यादवले आइतबार विज्ञप्ति जारी गर्दै दोषिमाथि कारवाहीको माग गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको झन्डै सात महिना बितिसकेको भए पनि समितिको अध्यक्ष चयन हुन सकेको छैन ।