वीरगञ्ज,वीरगञ्ज महानगरपालिका– १० स्थित पुरानो बसपार्कको पछाडि रहेको त्रिशला रेस्टुराँमा मृत फेला परेकी युवतिको परिवार र स्थानीयले घटनाको निष्पक्ष छानबिनको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् ।
मङ्सिर २७ गते शनिवार रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा सङ्घको धर्मशालाको कोठा नम्बर १०५ मा मृत अवस्थामा भेटिएकी पर्सागढी नगरपालिका– ३ झाब्रा टोलकी २० वर्षीय युवति सुनिता स्यान्बोको परिवार र आफन्तले मृत्यु शङ्कास्पद भएको भन्दै न्यायको लागि बुधवार वीरगञ्जमा प्रदर्शन गरेका हुन् । सुनिता सोही रेस्टुराँमा कार्यरत थिइन ।
सुनिताको हत्या भएको भन्दै परिवारका सदस्यहरूले दोषीलाई पत्ता लगाएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने र उनी कार्यरत रेस्टुराँले परिवारलाई क्षतिपूर्ति समेत दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका सुनिताको परिवारका सदस्यसँगै स्थानीयहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाउँदै न्यायको माग गरेका थिए । त्यसपश्चात् उनीहरूले ठूलो सङ्ख्यामा ¥याली निकालेर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

पर्सा प्रहरीले प्रारम्भिक अनुसन्धानमा सुनिताको मृत्युको घटनालाई आत्महत्या जस्तो देखिएको बताएको छ । तर, विस्तृत छानबिन र पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण पुष्टि गर्न सकिने पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले बताउनुभएको छ ।त्रिशला रेस्टुराँ स्थानीय युवाका अनमोल कुमारद्वारा सञ्चालित छ । प्रहरीले उनलाई शङ्काको घेरामा राखेर अनुसन्धान गरिरहेको भएपनि पक्राउ भने गरेको छैन ।

Leave a Reply