जनकपुरधाम,मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आएपछि शनिवार राति ११ बजे प्रादेशिक अस्पताल जनकपुरधामको निरीक्षण गर्नुभएको छ ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्षलगायतको निरीक्षण गरी उहाँले ‘ड्युटी’मा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधिबारे जानकारी लिनुभएको थियो ।

मुख्यमन्त्री सिंहले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरबाही नगर्नसमेत निर्देशन दिनुभयो ।
मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न, सूचीअनुसार औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको थियो । निरीक्षणका क्रममा उहाँले बिरामी र कुरुवासँग अस्पतालको सेवा सुविधाबारेमा पनि जानकारी लिनुभएको थियो ।


















