निजगढ,नेकपा एमाले केन्द्रीय कमिटीको निर्वाचनमा बाराबाट एक पदाधिकारीसहित १४ जनाले उम्मेदवारी दिएका छन् ।केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार केन्द्रीय सचिवमा पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ । एमालेभित्र अनुभवी, शालिन, क्षमतावान नेताका रुपमा चिनिने पौडेल मधेस प्रदेशबाट सचिव पदको लागि एक्लो उम्मेदवार हुनुहुन्छ । पौडेल अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवार बन्नुभएको हो । सो पदमा अर्को समूहबाट कसैले पनि उम्मेदवारी दिएका छैनन ।

पार्टीभित्र विधि, पद्दति र अनुशासनको वकालत गर्ने पौडेल अध्यक्षका उम्मेदवार केपी ओलीको कटु आलोचकको रुपमा चिनिनुहुन्छ ।संविधानसभाका सदस्य एवम् पूर्वमन्त्री र अघिल्लो केन्द्रीय कमिटीमा पोलिटव्युरो सदस्य रहनुभएका पौडेलको देशभरिका कार्यकर्ताहरुसंग पहुँच भएका कारण विजयी हुने शंभावना बढी छ । पौडेलको चुनाव प्रचारका लागि बारासहितका मधेसका जिल्लाका प्रतिनिधि र पार्टी कार्यकर्ता सक्रिय देखिएका छन ।यसैगरी केन्द्रीय सदस्यमा अन्य दुई पोलिटव्युरो सदस्य अच्युत मैनाली र ज्वालाकुमारी साहले उम्मेदवारी दिनुभएको छ । मैनाली र साह बिघठित प्रतिनिधिसभाका सदस्य हुनुहुन्छ । मैनाली बारा १ र साह बारा ३ बाट निर्वाचित हुनुभएको थियो । साह पूर्वमन्त्री र मैनालीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारका रुपमा काम गर्नुभएको थियो ।
यता अघिल्लो कार्यकालमा केन्द्रीय सदस्य रहनुभएका बलवीर चौधरी, महम्मद समीर, एकबाल मियाँको पनि उम्मेदवारी कायम छ । चौधरी संविधानसभाका सदस्य, मियाँ पूर्व प्रतिनिधिसभा सदस्य र समीर प्रदेशसभा सदस्य हुनुहुन्छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छोडेर हालैमात्र एमाले फर्किनु भएका पूर्वमन्त्री किसान श्रेष्ठले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य र पूर्व श्रममन्त्री हुनुहुुन्छ ।
युवाबाट मोबिन आलमको उम्मेदवारी परेको छ । आलम एमाले मधेस प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघका केन्द्रीय सचिव हुनुहुन्छ ।मजदुर नेता आनन्द थामी र कमलेश झाले पनि उम्मेदवारी दिनुभएको छ । यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङ्सहित दुर्गा कोइराला र सीता सुवेदी पनि केन्द्रीय सदस्यको लागि चुनावी मैदानमा छन् ।दलितबाट दशरथ रामले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । यसैगरी केन्द्रीय लेखा आयोगमा टिना सुवेदी र अनुशासन आयोगमा कमला घिमिरेको उम्मेदवारी परेको छ ।
















