कृष्ण मोहन साह
सेढवा,आठ वर्षदेखि अलपत्र रहेको एउटा सरकारी सिँचाइ आयोजनालाई पर्साका किसानहरुले श्रमदान गरेर संचालनमा ल्याएका छन ।पर्साको जिराभवानीपुरमा संघीय सरकारको बजेटमा निर्माण शुरु भएर अलपत्र पर्दैआएको घोडेमसान सिँचाइ आयोजनाबाट किसानहरुले आफै प्रयासमा पानी संचालन गरेका हुन ।

मानव बस्तीभन्दा करिब २० किलो मिटर टाढा उत्तरतर्फको पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा रहेको घोडेमसान खोलाको पानी ल्याएर सिँचाइ गर्न संघीय सरकारले आर्थिक बर्ष २०७३-०७४ सालमा १८ करोड रुपैयाको लगानीमा आयोजना शुरु गरेको थियो । उपभोक्ता समितिमार्फत निर्माण हुने भनिएको सो आयोजना अन्तर्गत निकुञ्जको जंगलभित्र कुलो निर्माण कार्यको लागि ६५ लाख र आवादी क्षेत्रमा कुलो निर्माण कार्यको लागि ८५ लाख रुपियाँ लगानी भएको थियो ।
सिँचाईका लागि पानी ल्याउन कतिपय खहरे खोलामा पक्की साइफन (अन्डरग्राउन्ड कुलो) समेत निर्माण गरिएको थियो । तर बजेटको निरन्तरता नहुँदा आयोजना अलपत्र परेर निर्माण भएका अधिकांश स्थानका कुलो पुरिएको र भत्किएको अवस्थामा रहेको थियो ।

जिराभवानी गाउँपालिकाको हरैया, बसन्तपुर, काठमाडौंटोल, तिनटोलिया, शान्तिनगर तथा ठोरी गाउँकपालिका वडा नम्बर ५मा पर्ने गडुवालाईन, क्षेत्रीलाईन, बथेटोलका किसानहरुले सोही कुलो र साइफनको मर्मत गरेर एक साता अघिबाट पानी संचालनमा ल्याएका हुन । दैनिक ४०-५० जना किसानहरुले जंगल प्रवेश गरी बाँध र कुलो मर्मतको लागि श्रमदान गरेका थिए ।अलपत्र आयोजनाबाट पानी संचालनमा आएपछि सो क्षेत्रका किसानहरूले गहुँबाली, सुर्ती लगायतका हिउदे बालीमा सिँचाई गरिरहेका जिराभवानी गाउँपालिका वडा नम्बर १ शान्तिनगरका किसान बासु श्रेष्ठले बताउनुभयो । श्रेष्ठको अनुसार पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनबाट खोलाको बाँध निर्माण तथा जंगलभित्रको कुलो मर्मतका लागि आवश्यक प्रक्रिया अपनाई कागजात तयार पारेर एक महिनाअघि जंगल प्रवेशको लागि अनुमति लिइएको थियो ।
घोडेमसान खोलाको पानीले सो क्षेत्रको करिब एक हजार पाँच सय बिघा जमिनमा सिँचाइ गर्न सकिने किसानहरुको भनाई छ ।

जिराभवानी गाउँपालिका वडा नं ५ हरैयाका किसान भोजराज रामका अनुसार हरैया क्षेत्रमा हरेक वर्ष हिउदमा किसानहरुले घोडेमसान खोलाको पानी ल्याउने गरेको बताउनुभयो । यस वर्ष जिराभवानी गाउँपालिकाको र ठोरी गाउँपालिका वडा नम्बर ५ का किसानहरुको समन्वमा पानी ल्याएको रामले बताउनुभो ।ठोरी गाउँपालिका वडा नम्बर ५ का देवीप्रसाद दहालका अनुसार घोडेमसान खोलाको साथसाथै सितलपुर खोलाको पानी पनि ल्याउने प्रयास भइरहेको बताउनुभयो । ती दुई खोलाको पानी ल्याउन सकेको खण्डमा जिराभवानी र ठोरी गाउँपालिकाका हजारौ बिघा खेतमा सिँचाइ गर्न सकिने दहालले बताउनुभएको छ ।

Leave a Reply