निजगढ,निजगढ नगरमा नेपाली कांग्रेस पार्टी क्रियाशील सदस्यता वितरण सम्बन्धि विवाद सतहमा आएको छ ।
कांग्रेस नगर सभापती नवराज तिमल्सिनाले सामाजिक सन्जाल फेसबुकमार्फत विवाद झल्किने गरी स्टाटस लेखेपछि सदस्यता विवाद सार्वजनिक भएको हो । सभापती तिमल्सिनाले नगरका १३ वटा वडाका सभापतीहरूलाई जानकारीको लागि सूचना जारी गर्दै आइतवार लेख्नु भएको स्टाटसमा बारा जिल्ला समितिले निजगढ नगरको क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको र आधिकारिक निकाय नगर कार्यसमितिको अवमुल्यन हुने गरि बिधान विपरित वितरण गर्न खोजिएको क्रियाशील सदस्यता आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभएको छ ।
नगरबाट क्रियाशील सदस्यता उपलब्ध हुँदाहुँदै पार्टीको बिधान मिचेर अर्को कुनै माध्यमबाट ल्याइएमा निजगढ नगरले ती अवैध क्रियाशील सदस्यहरुलाई मान्यता दिने छैन उहाँले भन्नुभएको छ ।
क्रियाशील सदस्यता विवाद समाधान गर्न यसअघि भएको सहमति र निर्णय विपरित जिल्ला सभापती राजेश राय यादवले आफू निकट वडा सभापतीहरुलाई मात्र फारम वितरण गरेपछि कांग्रेसमा सदस्यता वितरण गर्ने प्रयास गरेकोभन्दै गत आइतवार कलैयामा भएको कार्यक्रममा निजगढ लगायत बारा क्षेत्र नम्बर १ का विभिन्न पालिकका प्रमुखहरुले विरोध जनाएका थिए ।
केन्द्रीय प्रतिनिधि बिमलेन्द्र निधिको उपस्थितिमा भएको सो कार्यक्रममा निधिले विवाद मिलाउनेभन्दा बल्झाउने कार्य गरेकोभन्दै निजगढ नगर सभापती तिमल्सिना र महासमिति सदस्य शम्भुबहादुर बुढाथोकी, महाधिबेशन प्रतिनिधि सिकेन्द्र पासवान र बारा क्षेत्र नम्बर १ ‘ख’का सभाती टेकबहादुर लामालगायतले निधिको भूमिकाको विरोध जनाउनुभएको थियो ।
बारामा केन्द्रीय प्रतिनिधिको खटिनुभएका निधिको मिलिमतोमा कांग्रेस जिल्ला कार्यसमितिका सभापती राजेश रायले आफ्ना मान्छेलाई मात्र सदस्यता वितरण गर्न लागेकोभन्दै कार्यकर्ताहरुले विरोध गर्दैआएका छन ।














