सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको छुट्टा छुट्टै स्थानमा आइतवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अमलेखगंज र सिमरामा भएको घटनामा २ जना मोटरसाइकल चालकको ज्यान गएको हो । घटनामा २ जना घाइते बनेका छन ।
जीतपुरसिमरा २१ स्थित अमलेखगञ्जमा आइतवार राती भएको सवारी दुर्घटनामा नाम थर र ठेगाना खुल्न नसकेका एक जनाको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको बसले अमलेखगञ्जको होटल क्विकट्वेन्टी अगाडिको सडकमा प्र.०२–०३–०१३प ३२३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन । जीतपुरसिमरा २१ का वडा अध्यक्ष सुवास श्रेष्ठले दुर्घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक र घाइतेलाई उद्धार गरेर हेटौडा अस्पताल पठाइएको बताउनुभयो ।मोटरसाइकललाई ठक्कर दिई फरार भएको बसलाई भने प्रहरीले हेटौडाको रातोमाटेबाट नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सिमरामा आइतवार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक यूवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक यूवा घाइते भएका छन् ।पथलैया–वीरगञ्ज व्यापारिक मार्ग अन्तर्गत सिमरामा ना६ख २८९५ नम्बरको ट्रकले ना४०प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट जीतपुरसिमरा उपमहानगरपालिका १ का ३० वर्षीय उदितनारायण झाको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका झालाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनाका अर्का घाइते जीतपुरसिमरा उपमहानगरपालिका २ का १८ वर्षीय उत्पल आचार्यको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
सर्भिस लेनबाट मुख्य लेनमा निस्किएर विपरित दिशामा गुडिरहेको ट्रकले सिमराबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीले ट्रकसहित चालक धादिङ गजुरीका सन्दीप भुजेललाई नियन्त्रणमा लिएको छ ।
सौजन्य तस्बिर