एमाले नेतृत्वका लागि हुने चुनावी प्रतिस्पर्धा संस्थापन पक्षका लागि पेचिलो बन्नसक्ने अवस्था देखिएको छ । चाहेअनुसारको पदमा उम्मेदवारी दिन नपाएपछि अध्यक्ष केपी शर्मा ओलीकै निकटस्थ नेताहरू असन्तुष्ट बनेका छन ।
पार्टी राजनीतमिा अनवरत ओलीलाई साथ दिँदै आएका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिनुभएको छ । उहाँ महासचिवका आकांक्षी हुनुहुन्थ्यो । तर, ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहो¥याउन चाहेपछि ज्ञवाली असन्तुष्ट बन्नुभएको हो ।

संस्थापन पक्षले ज्ञवालीलाई उपाध्यक्षमा समेट्न खोजेको थियो । तर, ज्ञवालीले महासचिवबाहेकको पदाधिकारीमा उम्मेदवारी नदिने अडान लिनुभयो । आफ्नो अडानमा कायम रहँदै उहाँले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि ओलीलाई झट्का लागेको छ ।ओली प्यानलबाट अन्य नेताहरू पनि चाहेअनुसारको पदमा लड्न नपाएर भटाभट निस्किरहेका छन् । ओलीलाई विगतमा फुटबलको पेलेसँग तुलना गर्ने नेता कृष्णगोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा मात्रै राखिएपछि असन्तुष्ट बन्नुभयो । उहाँ फड्किएर ईश्वर पोखरेलको कित्तामा पुग्नुभएको छ र सचिवको उम्मेदवार बन्नुभएको छ ।
विगतमा ओलीको अनन्य सहयोगी मानिने गोकुल बास्कोटाले पनि पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिनुभएको छ । यद्यपि, उहाँ ओलीसँग टाढिएको धेरै समय भइसकेको छ ।अर्का ओलीनिटक नेता अग्नी खरेल पनि संस्थापन पक्षको प्यानलबाट बाहिरिनुभएको छ । उहाँलाई ओली प्यानलमा केन्द्रीय सदस्यमा राखिएको थियो । तर, उहाँले त्यसमा चित्त नबुझाएर सचिवमा ‘स्वतन्त्र’ उम्मेदवारी दिनुभएको छ ।
संस्थापनकै प्यानलमा केन्द्रीय सदस्यमा राखिएका लालबाबु पण्डितले पनि चित्त बुझाउनुभएको छैन । उहाँले सचिवमा उम्मेदवारी दिनुभएन । अघिल्लो १०औं महाधिवेशनमा पनि पदाधिकारीमा नपरेपछि उहाँ असन्तुष्ट भएर निस्किनुभएको थियो ।यस्तै, ओली प्यानलमा केन्द्रीय सदस्य राखिएका भीम आचार्यले पनि विद्रोह गर्नुभएको छ । उहाँले प्यानलबाट निस्किएर उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । ओली प्यानलमै केन्द्रीय सदस्यमा राखिएका रघुजी पन्त पनि भड्कििनु भएको छ । उहाँले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
यसअघि नवौँ महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओलीनिकट मानिनुहुन्थ्यो । पन्तलाई ईश्वर पोखरेल पक्षले उपाध्यक्षमा समेट्ने सम्भावना छ ।संस्थापन पक्षको प्यानलमा नपरेपछि आनन्द पोखरेल ईश्वर पोखरेलतिर लाग्नुभएको छ । उहाँले उपमहासचिवमा उम्मेदवारी दिनुभयो ।
ओलीको कोटरीका एक सदस्य राजेन्द्र गौतमसमेतले प्यानलबाट निस्किएर उपमहासचिवमा उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टीको प्रचार विभाग प्रमुख गौतमले ओली प्यानलमा सचिवको आकांक्षा राख्नुभएको थियो । तर, पदाधिकारी लिस्टमा नपरेपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।त्यसैगरी लीला गिरीलगायत नेताहरूले पनि ओली प्यानलबाट विद्रोह गरेका छन् । लेखराज भट्ट सचिवमा उठ्न नमानेपछि उहाँलाई उपमहासचिवामा उकालिएको छ भने भानुभक्त ढकाललाई उपमहासचिवबाट सचिवमा झारिएको छ ।
संस्थापन पक्षले अनुशासन आयोगको अध्यक्षमा प्रस्तावित गरेका काशीराज अधिकारीले उम्मेदवारी नै नदिने हुनुभएको छ । नयाँलाई पालो दिनुपर्ने भन्दै उहाँले उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो ।ओली क्याम्पबाट भटाभट विद्रोह हुँदा ईश्वर पोखरेल पक्ष हौसिएको छ । ओलीसँग बिच्किएका नेताहरूलाई आफ्नो कित्तामा ल्याउन पोखरेल पक्षका नेताहरू सक्रिय बनेका छन् ।महासचिवका आकांक्षी पृथ्वीसुब्बा गुरुङ पनि असन्तुष्ट बन्न सक्ने आशंका थियो । तर, उहाँले संस्थापन पक्षबाटै उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।



















