वीरगन्ज,नेपालका अन्य शहर र जिल्लामा केहि सातायता कोरोना भाइरस संक्रमण दर फेरि बढ्दै गएको भएपनि वीरगन्जमा भने संक्रमण दर न्युन देखिएको छ । वीरगन्जको नारायणी अस्पतालमको प्रयोगशालामा सोमबार साँझ ५४ जनाको परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार राति भने ९१ जनाको पीसिआर परीक्षण गर्दा पोजेटीभ रिपोर्ट शुन्य आएको छ ।
आइतबार राति ९१ जनाको पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । यसअघि असार २३ गते पनि नारायणी अस्पतालको प्रयोगशालामा ५६ जनाको पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो । नारायणी अस्पतालमा दिनहुँ भइरहेको परीक्षणमा ४÷५ जनाको रिपोर्ट पोजेटिभ आइरहेको भएपनि असार २३ गते र आइतबार राति गरिएको परीक्षणमा भने सबैको रिपोर्ट नेगेटिभ आएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सिंहका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा साउनयता भइरहेको पीसीआर परीक्षणमा संक्रमण दर २ दशमलव २० प्रतिशत रहेको छ ।
साउन १ गते देखि सोमबारसम्म १८ दिनको अवधिमा १ हजार ३ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा मात्र संक्रमण भेटिएको डाक्टर सिंहले बताउनुभयो । संक्रमण पुष्टि भएका ३३ जनामध्ये पर्सा जिल्ला घर भएका २० जना मात्र रहेको र अरु १३ जना अन्य जिल्लाका रहेको डाक्टर सिंहले जानकारी दिनुभयो । डाक्टर सिंहले वीरगन्ज र पर्साका अस्पतालमा भइरहेको परीक्षणमा संक्रमण दर न्युन देखिए पनि वास्तविक रुपमा संक्रमण दर त्यति धेरै न्युन भने नरहेको बताउनुभयो । ज्वरो, रुघाखोकी जस्ता लक्षण भएका बिरामीहरु अस्पताल र क्लीनकहरुमा आउदा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकहरुले पीसीआर जाँच गराउन सिफारिस गर्दा बिरामीले नै पीसीआर जाँच गराउन नमान्ने गरेका कारण संक्रमण दर कम देखिएको डाक्टर सिंहले बताउनुभयो । बिरामी आफैले नै पीसीआर जाँच नगराइ औषधि नै लेखिदिन आग्रह गर्दै आएका कारण बाध्य भएर चिकित्सकहरुले औषधी लेखेर पठाइ दिने गरेको उहाँले बताउनुभयो ।
नेपालमा पनि कोरोनाको तेश्रो लहर प्रवेश गर्ने प्रबल सम्भावना देखिएकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन अहिले पनि उत्तिक्कै आवश्यक रहेको डाक्टर सिंहले बताउनुभयो ।