मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नम्बर ५ र ११ को बीचमा रहेको दुधौरा खोलामा गिटी बालुवा उत्खननको ठेक्का नलगाइएपछि चोरी निकासी बढेको र आफूहरु बेरोजगार बनेको भन्दै स्थानीय ट्याक्टर व्यावसायीहरुले आन्दोलनको चेतावनी दिएका छन ।उनीहरुले बालुवाको चोरी निकासी बढेर नगरपालिकाको राजश्वमा नोक्सानी पुगेको र आफूहरु रोजगारी पनि गुमेकोेभन्दै नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन र निकासीको ठेक्का लगाउनुपर्ने माग गरेका हुन ।

व्यवसायीहरुका अनुसार दुधौरा खोलामा रातिको समयमा उत्खनन गरेर बालुवा चोरी हुने गरेको छ । स्थानीय केही ट्याक्टर व्यावसायीहरुले रातिको समयमा दैनिक सयौँ ट्याक्टर बालुवा उत्खनन गरेर लैजाने गरेको उनीहरुको दाबी छ ।खोलामा भैरहेको अवैध उत्खनन नियन्त्रणको लागि नगरपालिका कार्यालय र प्रहरीले समेत कुनै कारबाही नगरेको ट्याक्टर व्यावसायीहरुको गुनासो छ । व्यवसायी मनोज चौधरीले मेयर राजन पौडेलको निर्देशनमा नै अवैध रूपमा रातारात बालुवा उठाइने गरिएको हो । ‘नगरपालिकाले दुई वर्षदेखि खोलाको टेन्डर खोलेको छैन, उहाँले भन्नुभयो, तर राति भने आफ्नै मान्छेहरूमार्फत उत्खनन गरी ट्याक्टरमा राखेर बिक्रीको लागि लगिन्छ ।’ ‘खोला बन्द गर्नु छ भने सबैको बन्द होस्, हाम्रो मात्र किन रोक्ने ?’ व्यवसायी चौधरीको भनाई छ ।
नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन र निकासीको लागि टेन्डर नखोलेका कारण ट्याक्टर व्यवसायीहरूको शंका र असन्तुष्टि बढ्को हो । व्यावसायीहरूको भनाईमा अवैध रूपमा काम गर्ने वातावरण मिलाउन टेण्डर नखोलिएको हो ।
अर्का ट्याक्टर व्यवसायी राहुल चौधरीले पनि नगरपालिकाले खोलाको टेण्डर नखोल्दा आफूहरूको जीविकोपार्ज नै संकटमा परेको बताउनुभयो । ‘बैङ्गबाट ऋण लिएर ट्याक्टर किनेका छौँ, उहाँले भन्नुभयो, तर खोला बन्द हुँदा ट्याक्टर चलाउन नपाएर परिवारको गुजारा चलाउन समस्या छ ।’ यस वर्ष पनि टेण्डर नखुले आफूहरु सडक आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।


















