चुनाव हो हारजीत हुन्छ । यो स्वाभाविक प्रकृया नै हो । फेरि हार स्वीकार्नु पनि लोकतन्त्रको सुन्दर पक्ष हो । खेलमा र चुनावमा नभएको हार जीत अन्य ठाउँमा हुने कुरा भएन । तर हार र जीत पनि अस्वभाविक भयो भने चर्चा मात्रै हुने होइन राजनीतिक कोर्श नै परिवर्तन हुने रहेछ । करिब एक महिना अगाडिको मात्रै कुरा गरौं न, काठमाडौंको मेयरमा एमालेका तर्फबाट उठेका केशव स्थापितले आफ्नो प्रतिस्पर्धी नभएको बताएका थिए ।
आज एक महिनापछिको मत परिणाम हेर्ने हो भने उनी बरु प्रतिस्पर्धामा रहेनन् । वास्तवमा यो स्थापितको घमण्ड थियो । यसरी घमण्ड गर्ने जो कोहीले पनि पराजय भोग्नु नै पर्दछ । चुनाव ताका आएर जथाभावी बोल्दा त्यसले मतदाताहरुमा असर परेकै हो । स्थापितको पराजयमा चुनावको मुखमा उनले प्रतिस्पर्धी उम्मेदवारहरुमाथि गरेको अनावश्यक टिकाटिप्पणी र तडकभडकपूण व्यवहार मतदाताले मन नपराएको र उनको पराजयको निम्ति सबैन्दा महत्वपूर्ण कुरा यही नै थियो भन्ने देखिन्छ ।
अब बालेन काठमाडौंको मेयरमा बिजयी हुदैछन् । उनी बिजयी हुनुको मतलब त्यसको सवक एमाले सहित नेपालमा आफूलाई ठूलो भन्ने सबै दललाई सिकाएको हो । दलबाट वाक्क भएका नागरिकहरुले बिकल्प खोजिरहेको संदेश पनि बालेन बिजयको अर्थ हो । त्यसैले पनि बालेनको बिजयको बाछिटा सबै दललाई लागेको छ । अब दलहरु पनि गम्भीर हुन आवश्यक छ ।