निजगढ,जंगली हात्तीले निजगढ नगरपालिकामा वडा नम्बर ५ गैरीगाउँमा मंगलवार बिहान एउटा घर भत्काएर क्षति पुर्याएको छ ।

बिहान करिव १ बजेतिर बस्तिमा पसेका २ वटा हात्तीले स्थानीय साइला अधिकारीको घरको पाली भत्काएको हो । सोही हात्तीले स्थानीय एक किसानको र निजगढ ४ स्थित माझीटोलका अर्का स्थानीयको घरको बार्दलीमा राखेको मकै खाएर नष्ट पारेको छ ।

गाउँमा पसेर अन्नबाली खाने र घर भत्काउने गर्न थालेपछि स्थानीयले राँको र धुनी लगाएर हात्ती धपाएका थिए । हात्ती लखेटने क्रममा गाउँका केही युवाहरुलाई हात्तीले उल्टै लखेटेको स्थानीय विजय तिमल्सिनाले जानकारी दिनुभयो । गैरीटोलबाट पूर्वटोल हुदै पश्चिमतर्फ लागेको सो हात्तीको बथान बिहान ५ बजे निजगढ ४ स्थित माझीटोलमा पुगेर अर्का स्थानीय कैलास खडकाको घरमा राखेको मकै खाएको बाघभैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरलाल स्याङ्गतानले जानकारी दिनुभयो ।

चुरे फेदीको जंगल हुदै आएको हात्ती मोहोरीतर्फ गएको उहाँले सुनाउनुभयोे । मोहोरीस्थित बकैया खोलामा नेपाली सेनाले बनाएको बेली ब्रिजसम्म पुगेको देखिए पनि सो हात्ती बकैया खोला वारिबाट फेरि पूर्वतर्फ नै फर्किएको र हाल मोहोरी जंगलमा बसेको हुनसक्ने वन समुहका अध्यक्ष स्याङ्गतानले बताउनुभयो ।

यसैबीच सोमवार राति सिगौलमा देखा परेको हात्ती मंगलवार निजगढ पसेको हो । यसअघि सोमवार बिहान सोही हात्तीले रौतहटको चन्द्रपुर नगरपालिका– ६ मा पर्ने लमाहा खोला किनाराको सुकुम्बासी बस्तीका पाँच घर भत्काएको थियो । पूर्वपश्चिम राजमार्गसंगै रहेको सो बस्तीमा सोमवार बिहान २ बजेको समयमा दुई वटा हात्तीले स्थानीय राम पहरी, लक्ष्मण पहरी, फुलमाया मगर, अर्जुन पहरी र धनमाया पहरीको घर भत्काएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । आइतवार साँझ चन्द्रनिगाहपुरस्थित घना बस्तीमा छिरेकोमा प्रहरीले ४ घण्टा लगाएर धपाएपछि पश्चिमतर्फ लागेको हात्ती जंगलको बाटो भएर निजगढ आइपुगेको हो ।

Leave a Reply