मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्मा सरकारको पूर्व तयारीमा कमजोरी रहेको स्वीकार गर्नुभएको छ । हुन पनि बिहीवारदेखि परेको अविरल वर्षाका कारण सबैभन्दा बढी क्षति संघीय राजधानी काठमाडौं, ललितपुर र भक्तपुरले नै व्यहोर्नुपरेको छ र अन्य ठाउँमा पनि असर परेको छ ।यो विपद्मा सरकारको तयार पारेको रिपोर्टअनुसार यी तीन जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने सयौं घर डुबानमा परेका छन ्। शनिपवार तीनवटै जिल्लालगायत देशका अन्य कैयौँ जिल्लाको जनजीवन पनि अस्तव्यस्त बन्न पुगेको थियो ।

विपद्बाट क्षति भइसकेपछि सरकारले उद्धारमा जति तदारुकता देखाउँछ त्यति नै तदारुकता विपद्पूर्वको तयारीमा अपनाउन सकेको पाइँदैन । त्यसैले यसपटकको विपदमा पनि ठूलो संख्यामा मानवीय क्षति हुन पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागले गत बुधवार नै बाढीपहिरोको जोखिम रहेको स्पष्ट पारेको थियो । सोही अनुसार नै अविरलरुपमा भीषण पानी परेको देखिन्छ । यसरी सरकारको एक निकायले समयमा नै जोखिम औंल्याएको भए पनि गृह मन्त्रालय तथा अन्य सरोकारवाला निकायले भने विपद्को क्षति न्यूनीकरण गर्नका लागि सोही अनुसारको पूर्वतयारी गर्न नसक्दा ठूलो जनधनको क्षति हुन पुगेको स्पष्ट छ।

गृह मन्त्रालय मातहत रहेकै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत विपद्को बेला कहाँ कति जोखिम छ भन्ने बारेमा स्पष्ट पार्दै सोही अनुसार सचेतता अपनाउन आग्रह गरेको थियो तर गृह मन्त्रालय र मातहत रहेका विपद् पूर्वतयारीमा काम गर्ने जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकाय र प्राधिकरण आफैँले समेत पूर्वतयारीमा सशक्त काम गर्न सकेनन् ।ललितपुरमा नै घण्टौंसम्म उद्धारको प्रतीक्षा गरेका पीडितहरुको समयमा नै उद्धार हुन नसक्दा कतिपय नागरिक मृत्युको मुखमा परेका छन् ।यो घटनाबाट अब सबै तहका सरकारहरुले पाठ सिक्न चैं जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here