वीरगन्ज,पर्साको पोखरिया नगरपालिकामा गर्भवती, सुत्केरी तथा ५ वर्ष मूनीका बालबालिकाहरुलाई सर्वाेत्तम आहार लिटो वितरण गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण प्रभावित गर्भवती, सुत्केरी तथा बालबालिकाहरुको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको लागि पौष्टिक आहार लिटो वितरण गरिएको हो । यूकेएड, सेफ द चिल्ड्रेन, एक्शन एड नेपाल र दिव्य युवा क्लब पर्साको सयुक्त साझेदारीमा सञ्चालित कोभिड १९ का सहायक प्रभाव उत्थानशील प्रतिकार्य परियोजनाअन्र्तगत लिटो वितरण गरिएको दिब्य यूवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिनुभयो । दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्ने परिवारलाई दुई छाकको जोहो गर्न समेत कठिनाई भइरहेको समयमा पौष्टिक आहारको समस्या भएकाले पोखरिया नगरपालिका वडा नम्बर ७, ८ र १० मा रहेका सुत्केरी, गर्भवती महिला तथा ५ वर्षमूनीका बालबालिकाहरुको लागि लिटो वितरण गरिएको पटेलले बताउनुभयो । भटमास, गहुँ, चिनी, भिटामित, खनिज पदार्थ, पोटासियम क्लोराईड लगायतका पोषण तत्वहरुको मिसावट सर्वाेत्तम लिटो तिनवटै वडाका ६२ जना गर्भवती, ८८ जना सुत्केरी र ५ वर्षमुनीका ४ सय बालबालिकालाई वितरण गरिएको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले बताउनुभयो । उपप्रमुख खातुनका अनुसार गर्भवती तथा सुत्केरी महिलाहरुलाई १८ केजी र बालबालिकाहरुलाई ९ केजीका दरले सर्वाेत्तम लिटो वितरण गरिएको हो ।