आर.के. चौधरी

सखुवा प्रसौनी, पर्सा | पर्साको सखुवा प्रसौनी गाउँपालिकामा २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ उत्साहका साथ मनाइएको छ। “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदान” भन्ने मूल नारासहित गरिएको कार्यक्रम बिहानैदेखि सुरु भएको थियो।
बिहान आयोजित वृहत सचेतनामूलक र्याली (प्रभातफेरी) मा गाउँपालिकाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक, स्थानीयबासी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले समुदायमा स्वास्थ्य सचेतना फैलाउने संदेशयुक्त प्लेकार्ड तथा ब्यानरसहित बजार तथा मुख्य मार्गहरू परिक्रमा गरेका थिए। र्यालीको नेतृत्व गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले गर्नुभएको थियो।
कोणसभालाई सम्बोधन गर्दै प्रमुख रौनियारले स्वयंसेविकाहरूको भूमिकालाई “समुदायको मेरुदण्ड” भन्दै प्रशंसा गर्नुभयो। मातृ–शिशु मृत्यु दर घटाउन, खोप तथा पोषण अभियान सफल बनाउन, जोखिममा रहेका परिवारहरूलाई स्वास्थ्य सेवासम्म पहुँच पुर्याउन स्वयंसेविकाहरूले गरेको समर्पण र परिश्रमको उच्च मूल्यांकन गर्दै उहाँले भन्नुभयो, “सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू बिना स्वास्थ्य प्रणालीको जरा मजबुत हुनै सक्दैन।”
गाउँपालिकाको कार्यालय परिसरबाट सुरु भएको र्याली गाउँका प्रमुख बस्तीसम्म परिक्रमा गरी पुनः कार्यालयमै आएर कोणसभामा परिणत भएको थियो ।
हरेक वर्ष डिसेम्बर ५ (मंसिर १९) का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर देशभर महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको सम्मानमा यो दिवस मनाइने परम्परा रहेको छ।

















