हेटौडा,रोजगारीको खोजीमा देशबाट वर्षेनी हजारौं नेपाली युवा विदेशिन बाध्य छन्। तर मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ५, दिल्लीपुरका २५ वर्षीय अभिषेक अधिकारीले नेपालमै सम्भावना देख्दै कृषिमा भविष्य खोज्नुभएको छ। उहाँ आफ्नै गाउँमा ‘हिमालयन कृषि तथा पशुपालन फर्म’ स्थापना गरेर युवाहरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।करिब १० करोड रुपैयाँको लगानीमा सञ्चालित यो फर्ममा अधिकारीले आधुनिक प्रविधिको प्रयोगसहित परम्परागत ज्ञानलाई समेट्दै कृषि तथा पशुपालनको उत्कृष्ट नमूना प्रस्तुत गर्नुभएको छ।
२०० कठ्ठा क्षेत्रफलमा फैलिएको फर्ममध्ये १५० कठ्ठा उहाँको आफ्नै जग्गा हो भने बाँकी ५० कठ्ठा उहाँले भाडामा लिनु भएको छ।
फर्ममा हाल १६० वटा मुर्रा जातका भैँसी पालिएका छन् । जसबाट दैनिक औसत ४०० लिटर दूध उत्पादन भइरहेको छ। अधिकारीले उत्पादन हुने दूधलाई विभिन्न प्रिमियम दुग्धजन्य उत्पादनहरू— मुर्रा घिउ, बटर, चीज, र ताजा दूधमा रूपान्तरण गर्दै बजारमा पुर्याउँदै आउनुभएको छ। साथै जैविक चामल, मकैको पिठो, र गाईको गोबरमा आधारित मल उत्पादनमा पनि उहाँले ध्यान दिनुभएको छ।अधिकारीका अनुसार, मुर्रा जातका भैँसीहरू उच्च फ्याटयुक्त दूधका लागि प्रसिद्ध छन्, जसले स्वास्थ्यका दृष्टिले पनि उपभोक्ताबीच लोकप्रियता हासिल गरिरहेको छ। उहाँले भैँसीहरूलाई प्राकृतिक घाँस र सन्तुलित आहार दिइ स्वस्थ्य वातावरणमा पालनपोषण गर्दै आइरहनुभएको छ। फर्ममा जैविक मल, मूत्र आधारित कृषि, र अन्य वातावरणमैत्री प्रविधिको प्रयोगसमेत गरिँदै आएको छ।
पुरानो र नयाँ ज्ञानको समायोजन
अधिकारीलाईकृषि पेसामा लाग्ने प्रेरणा पारिवारिक पृष्ठभूमिबाट मिलेको हो । उहाँका हजुरबुवा थापाप्रसाद अधिकारी र बुवा केदारप्रसाद अधिकारी पनि भैँसीपालनमा सक्रिय थिए। त्यसैको निरन्तरतामा उहाँले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोडेर फर्म सञ्चालनमा ल्याउनुभएको हो।फर्ममा हाल ७ जना स्थानीयले रोजगारी पाएका छन । यसले गाउँमा रोजगारीको अवसर मात्र सिर्जना गरेको छैन, कृषिमा व्यावसायिक सम्भावना पनि देखाएको छ। अधिकारीको लक्ष्य आगामी पाँच वर्षभित्र आफ्नै अर्गानिक होटेल सञ्चालन गर्ने रहेको छ।
सरकारी सहयोगको अभाव
कृषिमा उल्लेखनीय योगदान गरिरहे पनि अधिकारी सरकारी सहयोगबाट भने वञ्चित छन्। “धेरैपटक सरकारी कार्यालय धाइयो, तर सहयोगको आशमा रित्तो हात फर्किनु पर्यो,” अधिकारीको गुनासो छ। यद्यपि, उहाँले सरकारी असहयोगले आफूलाई रोक्न नसकेको बताउँनुहुन्छ। “मेरो प्रविधी पृष्ठभूमि छ, तर कृषिमा जुन सम्भावना देखेँ, त्यसैले म विदेश जानुभन्दा यही कर्ममा समर्पित भएँ,” अधिकारी भन्नुहुन्छ।उहाँको यात्रा सजिलो थिएन। आर्थिक, प्राविधिक र नीतिगत पक्षमा चुनौतीहरू रहेका छन्। तर ती चुनौतीबीच पनि उहाँले आफूलाई आत्मनिर्भर कृषकको रूपमा स्थापित गर्नु भएको छ।अभिषेक अधिकारी आजका दिनमा नेपालको उत्कृष्ट युवा कृषकमध्ये एक मानिन्छन। उहाँजस्ता युवाहरूको पहलले नेपालमै रोजगारी र व्यवसायिक सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश दिन्छ।

















