सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष सुनील गुप्तालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराले अनुमति दिएको छ। वडा अध्यक्ष गुप्तामाथि चैत १ गते होलीका दिन राति जीतपुरसिमरा ७ मा रहेको परशुराम गिरीको घरमा जबरजस्ती प्रवेश गरी कुटपिट तथा गालीगलौज गरेको आरोप लागेको छ।राति ९ः३० बजेको समयमा वडा अध्यक्ष गुप्तासहितको एउटा समूह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी भिडियो सार्वजनिक भएको थियो।

सो क्रममा घरधनी परशुराम गिरीले हवाई फायरसमेत गरेपछि सो घटनाले उग्र रूप लिएको थियो। लाइसेन्स प्राप्त बन्दुक घरमा राखेका गिरीले आफ्ना छोरा तथा नातिमाथि वडा अध्यक्षसहितको समूहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेकाले बाध्य भएर हवाई फायर गर्नुपरेको बताउनुभएको छ ।

सुरुमा जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर घटना मिलाउने प्रयास गरे पनि सहमति हुन नसकेपछि आइतवार बारा प्रहरीले वडा अध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार बारा प्रहरीले सो घटनामा संलग्न थप १० जनालाई पक्राउ गर्न बारा जिल्ला अदालतबाट अनुमति लिएको छ। यद्यपि उनीहरूको नाम गोप्य राखिएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष गुप्ता आपराधिक उपद्रव मुद्दामा पक्राउ परेको यो दोस्रो पटक हो। अघिल्लो वर्ष जीतपुरका राजुराज गिरीको घरमा डोजर लिएर छिरेका गुप्तामाथि आपराधिक उपद्रवको मुद्दा लागेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर वडा अध्यक्ष गुप्तालाई हिरासतमा राखिएको छ । आइतवार पक्राउ परेका गुप्तालाई सोमवार प्रहरीले बारा जिल्ला अदालतमा पेस गरेको थियो।

Leave a Reply