हेटौंडा,हेटौंडा बजारमा राजमार्ग क्षेत्रको जमिनमा निर्माण भएका अधिकांश घर भत्काइएको छ । कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौंडा र प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा आज हेटौंडाको मेनरोड, राप्तिरोड, एचआइडी, चौकीटोल लगायतका क्षेत्रका घरहरु भत्काइएको हो ।

हेटौंडाको मुख्य बजार क्षेत्रमा कडा सुरक्षा घेराका बिचमा आज बिहान सबेरैदेखि सडक चौडा बनाउने काम सुरु गरिएको थियो । हेटौंडाको बजार क्षेत्रमा पर्ने पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकलाई फराकिलो बनाउने काम सुरु गरिएको हो ।लामो समयसम्मको विवाद र कानुनी उल्झनपछि हेटौँडा बजार क्षेत्रको मुख्य सडक दायाँ–बायाँ बनाइएका स्थायी तथा अस्थायी संरचनाहरू शनिवार बिहानदेखि भत्काउन शुरु गरिएको हो ।

डिभिजन सडक कार्यालयले बिहान साढे ५ बजेदेखि नै हेटौँडा बजारको बुद्धचोकबाट डोजर परिचालन गरी सडकको क्षेत्राधिकारभित्र बनाइएका संरचनाहरू हटाउने काम शुरु भएको हो । व्यापक सुरक्षा व्यवस्था सहित करिब आधा दर्जन डोजर प्रयोग गरेर भवनहरू भत्काउने कार्य जारी रहेको छ ।मुख्य बजार क्षेत्रको सडक सीमामा बनाइएका स्थायी र अस्थायी संरचनाहरू डिभिजन सडक कार्यालयले चरणबद्ध रूपमा हटाइरहेको प्रजिअ बसन्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार हेटौँडाको रािप्तरोड तथा बुद्धचोक क्षेत्रमा संरचना भत्काउने काम भइरहेका छन् ।

मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौँडा बजार क्षेत्रको सडक विस्तार रोक्ने सर्वोच्च अदालतबाट कुनै आदेश नआएकोले काम रोकिने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।सडक डिभिजन कार्यालय हेटौंडाले यसअघि मंसिर ५ गते सडक सीमा क्षेत्र खाली गर्न १५ दिने म्यादसहित सूचना जारी गरेको थियो । सो म्यादअनुसार मंसिर १९ गतेसम्म कार्यालयलाई कुनै पनि निकायबाट काम रोक्न निर्देशन नआएपछि शनिबारदेखि सडक विस्तार कार्य निरन्तर अघि बढाउने निर्णय गरिएको हो ।

Leave a Reply