सिमरा,बाराको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवराज न्यौपाने प्यानलसहित निर्वाचित हुनुभएको छ ।अध्यक्षमा निर्वाचित न्यौपान रास्वपाको बारा–४ का क्षेत्रीय सभापति हुनुहुन्छ ।अध्यक्षमा निर्वाचित न्यौपानेले १ हजार १ सय १६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी प्रकाशबहादुर क्षेत्रीले ९ सय ७ मत प्राप्त गर्नुभयो ।
अध्यक्ष पदका अर्का उम्मेदवार पूर्णचन्द्र तिमल्सिनाले ५ सय ९१ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका उम्मेदवार शशि गौतमले २ सय ३३ र राजकुमार भट्टराईले २ सय १५ मत प्राप्त गर्नुभयो ।११ सदस्यीय कार्यसमिति चयनका लागि शनिबार भएको मतदानको गणना सोमबार बिहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले जानकारी दिनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकामा सबैभन्दा बलीयो दलका रूपमा रहेको नेकपा एमाले तीन टुक्रामा विभाजित हुँदा रास्वपाले सहज जित निकालेको हो ।सिमरा खानेपानीको चुनावमा मतदाता रहेका जीतपुरसिमराका चारमध्ये दुईवटा वडामा एमाले र एक–एक वटा वडामा कांग्रेस र माओवादीले अघिल्लो स्थानीय तहको निर्वाचन जितेका थिए ।
अध्यक्ष पदमा एमालेका तीन समूह छुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा थिए भने कांग्रेस पनि दुई तर्फ विभाजित थियो ।
अध्यक्ष पदका उम्मेदवार रहेका पूर्णचन्द्र तिमल्सिनालाई एमालेको संस्थापन समूहले उम्मेदवार बनाएको थियो भने प्रकाशबहादुर क्षेत्री र शशि गौतमले संस्थापनको निर्णय विरुद्ध उम्मेदवारी दिएका थिए ।
संस्थापनबाट उम्मेदवार बन्न नपाएपछि क्षेत्रीले एमालेको वडा कमिटी सचिवबाट राजीनामा दिएर खानेपानीको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । उहाँलाई माओवादी नेताहरूले समर्थन गरेका थिए । गौतम पनि एमाले छाडेको घोषणा सहित खानेपानीको अध्यक्षमा उठ्नुभएको हो ।कांग्रेसका दुई समूह अलग–अलग उम्मेदवारको समर्थनमा हुँदा रास्वपा त्यसको फाइदा उठाउँदै स्थानीयस्तरमा दिएको पहिलो उम्मेदवारीमा जीत निकाल्न सफल भएको हो ।
समितिको उपाध्यक्ष पदमा रास्वपाका हरिप्रसाद सिंखडा सर्वाधिक एक हजार एक सय ८७ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी मिठुमाया थिङ्ले सात सय ८४ मत पाउनुभयो । एमालेका झंकनाथ लामिछानेले पाँच सय ९५ मत पाउनुभयो ।
सचिव पदमा पनि रास्वपाका अमृत बस्याल एक हजार एक सय ७८ मतसहित बिजयी हुनुभयो । उहाँको प्रतिद्वन्दी सरस्वती अधिकारीले सात सय ५४ र एमालेका लोकराज पौडेलले पाँच सय २५ मत प्राप्त गर्नुभएको थियो ।सहसचिव पदमा रास्वपाकै कृष्णकुमार रिमाल एक हजार एक सय ७८ मत प्राप्त गर्दै बिजयी हुनुभएको थियो कोषाध्यक्ष पदमा रामकुमार अर्याल एक हजार एक सय ३५ मतसहित निर्वाचित हुनुभएको थियो ।रास्वपाका न्यौपानेसहित पाँच अलग–अलग समुह प्यानल बनाएर प्रतिष्पर्धामा थिए । पाँच हजार बढी उपभोक्ता मतदाता रहेको सिमरा खानेपानीमा शनिबार भएको निर्वाचनमा ३ हजार ३ सय २० मत खसेको थियो ।















