कलैया,बाराको पचरौता नगरपालिकाको सीमावर्ति क्षेत्रमा तस्कर समूह र प्रहरीबीच आइतवार राति दोहोरो गोली हानाहान भएको छ ।इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीको गस्ति टोलीलाई लक्षित गरी तस्कर समूहले फायरिङ्ग गरेपछि प्रहरीले पनि जवाफमा फायर खोलेको थियो ।जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ६ चिकनी टोलस्थित भारतको हनुमाननगरबाट मोटरसाइकल र ट्याक्टरबाट तस्करीका समानहरू लोड गरी नेपालतर्फ आउदै गरेको अवस्थामा तस्कर समूहसंग राति २२ः४५ बजे प्रहरी टोलीको जम्काभेट भएको थियो ।
प्रहरीले तस्करहरूलाई समात्न खोजेपछि तस्कहरुले प्रहरीमाथि कटुवा बन्दुकबाट २ राउण्ड गोली फायर गरेको थियो । प्रहरीले जवाफी फायरिङ्ग गर्दै ९ एमएम पेस्तोलबाट ७ राउण्ड फायर गरेपछि तस्कर समूह मोटरसाइकल छोडेर ट्याक्टरसहित भारततर्फ भागेको थियो । इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहको कमाण्डमा थप १० जनाको प्रहरी टोली पनि तत्कालै घटनास्थलमा पुगेको थियो ।तस्कर समूहमा अन्दाजी २५ रहेको प्रहरीको अनुमान छ ।
घटनास्थलबाट प्रहरीले भारतीय नम्बर प्लेटको ४ थान मोटरसाइकल, मोवाइल र अन्य केही अन्य कागजपत्र पनि बरामद गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार प्रहरीले बिआर ०५ बिएल ४१५४ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाइकल, बिआर ०५ बि ६८६४ नम्बरको स्पलेण्डर, बिआर ०५ बिडी ९८२१ नम्बरको बजाज कम्पनीको पल्सर र बिआर ५ एडब्लु ०५०१ हिरो कम्पनीको स्पलेण्डर मोटरसाइकल बरामद गरेको हो ।
यस्तै घटनास्थलबाट प्रहरीले इएएइ कम्पनीको भारतीय सिम प्रयोग भएको स्क्रीन टच मोबाइल एक थान, सामसुङ कम्पनीको भारतीय सिम एयर टेल कम्पनी र एनसेल कम्पनीको सिम प्रयोग भएको स्क्रीन टच मोबाइल एक थान र भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमति पत्र पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभएको छ ।


















