वीरगन्ज,वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई उहाँकै कार्यकक्षमा संयुक्त विद्यार्थी संघर्ष समिति पर्साले थुनिदिएका छन् । आइतबार बिहान ११ देखि १२ बजेसम्म शैक्षिक प्रशासन महाशाखाका प्रमुख कर्णलाई कार्यकक्षमा थुनेर नै तालाबन्दी गरिएको विद्यार्थी नेताहरुले बताएका छन् । कोरोना संक्रमणको नयाँ भेरियन्टको जोखिम हुदाँहुदै बिना मापदण्ड विद्यालय संचालनका लागि शैक्षिक प्रशासन महाशाखाले तयारी थालेपछि संयुक्त विद्यार्थी संघर्ष समिति पर्साले तालाबन्दी गर्नु परेको उनीहरुको भनाइ छ ।

तालाबन्दी गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिका नेताहरुले कोरोना संक्रमणको जोखिम जारी रहेकाले अहिले विद्यालय संचलन गर्नु उचित नरहेको बताएका छन् । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले जिल्लामा र पालिकामा रहेका विद्यार्थी संगठनहरुलाई शैक्षिक हकहितका लागि वेवास्ता गरेर मनोमानी निर्णय गरेकाले विरोध सहित तालावन्दी गरीएको अनेरास्ववियुका नेता रेयाज अंसारीले बताउनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णलाई एक घण्टा थुनेर २४ घण्टाको अल्टिमेटम दिदै लगाइएको ताला खोलिएको पनि नेता अंसारीले बताउनुभयो ।

शैक्षिक प्रशासन महाशाखाले संयुक्त विद्यार्थी संघर्ष समितिलाई नटेरेको, मनोमानी गर्दै अगाडि बढेकाले चेतावनी सहित तालाबन्दी गरिएको अनेरास्ववियुका नेता हेमन्त तामाङ्गले बताउनुभयो । गत जेठ २१ गते सूचना जारी गर्दै वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक तथा नीजी विद्यालयहरु असार १ गतेदेखि क्रमिक रुपमा खोलेर ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो । महानगरको सूचनामा असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्ना लगायतका व्यवस्थापकीय तयारी गर्ने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने र असार १५ गतेपछि नियमित रुपले कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने उल्लेख छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगीले शैक्षिक सत्र अनावश्यक रुपमा खेर गइरहेका कारण र विद्यार्थीहरुको भविष्य डामाडोल भएकाले आफूहरुले विद्यालय संचालन गर्न चाहेको बताउनुभयो ।

Leave a Reply