काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ ।एमाले केन्द्रीय कार्यालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक आयोग आवश्यक भएको बताउनुभयो । माथिल्लो तहको संलग्नताविना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी भइरहेको उहाँले दाबी गर्नुभयो ।अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबाट जोगाउन न्यायिक आयोग बन्नुपर्ने जिकिर गर्नुभयो । सरकारले विरोधलाई मत्थर पार्न सांसद सुनील शर्मालाई नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा गिरफ्तार गरेको समेत उहाँले दाबी गर्नुभयो ।प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउन माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।



















