सिकेन्द्र साह

सिम्रौनगढ,करार तथा ज्यालादारीमा भर्ना गरिएका कर्मचारी हटाउने निर्णयको विरोधमा सिम्रौनगढ नगरपालिकाको मुल गेटमा ताल्चा लगाएपछि कार्यलयको सम्पूर्ण कामकाज ठप्प बनेको छ ।

नगरपालिकाले नगर सभामार्फत करार तथा ज्यालादारीमा राखिएका ३५ जना कर्मचारीहरुलाई हटाउने निर्णयको आधारमा नगर प्रमुख किशोरी प्रसाद कलवारले सोको सूचना सार्वजनिक गरेसंगै आक्रोशित बनेका कर्मचारीहरुले कार्यालको मुख्य गेटमा तालाबन्दी गरेका हुन ।

नगर सभाले करार तथा ज्यालादारीका कर्मचारीलाई उनीहरुको काम र जिम्मेवारीको प्रकृति हेरेर सेवाबाट अवकास दिने निर्णय गरेको थियो । नगर सभाबाट एकमतमा सो प्रस्ताव पारित गरेको थियो । सोही निर्णयको आधारमा नगर प्रमुख कलवारले नगरपालिकाका करार तथा ज्यालादारीका सबै कर्मचारीलाई हटाउन सूचना प्रकाशन गर्नुभएको थियो ।

कर्मचारीलाई अवकास दिने सूचना सार्वजनिक भएसंग कर्मचारीहरुले तालाबन्दी गरेको करार, अस्थायी एवम ज्यालादारी कर्मचारी संघका नगर अध्यक्ष नितेस प्रसाद यादवले बताउनुभयो । उहाँले खाइपाइ आएको जागिरबाट हटाउने निर्णयको विरुद्ध आफूहरु आन्दोलित बनेको पनि बताउनुभयो ।

उता, सिम्रौनगढ नगरपालिकाका वडा अध्यक्ष अवधेश सहनीले नगर प्रमुख कलवारको मनोमानी र एकल निर्णयबाट कर्मचारीलाई हटाउने निर्णय भएको बताउनुभएको छ । उहाँले नगर प्रमुख कलवारले पुराना कर्मचारीलाई हटाएर नयाँ कर्मचारीको रुपमा आफ्ना कार्यकर्तालाई भर्ती गर्न खोजेको आरोप पनि लगाउनुभएको छ ।

Leave a Reply