निजगढ,निजगढमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्टेशन फेरि संचालनमा आउने भएको छ ।निजगढ नगरपालिका कार्यालयको माग अनुसार जिल्ला प्रशासन कार्यालय बाराले दर्ता अपरेटरसहितका कर्मचारी खटाएपछि स्टेशन संचालन हुने निश्चित भएको हो ।नगरपालिका कार्यालयको अनुरोधमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाण्डौंले जिल्ला प्रशासन कार्यालयमार्फत अपरेटर विकेशकुमार केशरीलाई ३ महीनाको लागि खटाएको र अबको एक÷दुई दिनभित्र नै कार्यालयबाट नै परिचयपत्र बनाउने कार्य शुरु गरिने निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले पटकपटक गर्दैआएको आग्रहपछि जिल्ला प्रशासन कार्यालयमार्फत निजगढमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम गर्न आवश्यक जनशक्ति र उपकरण पठाइएको हो ।जिल्ला प्रशासन कार्यालयले निजगढ नगरपालिकको नाममा मंगलवार पठाएको पत्रमा दैनिक न्युनतम ५० जनाको विवरण संकलन गर्ने गरी कार्य योजना बनाएर सोही अनुसार स्टेशन संचालन गर्न र उक्त संख्या पु¥याउन आवश्यक व्यवस्थापन गर्न पनि भनेको छ ।
पत्रमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशनका सामाग्रीहरु सुरक्षित रुपमा ढुवानी हुने गरी व्यवस्थापन गर्न र दर्ता स्टेशनको लागि पर्याप्त सुरक्षित स्थान सहितको कोठा, विद्युत, मसलन्द, स्क्यानर लगायतका अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन गर्न पनि नगरपालिका कार्यालयको जिम्मा लगाइएको छ ।नगर प्रमुख पुरीले पछिल्लो पटक गत बैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर निजगढमा विवरण संकलनको स्टेशन स्थापना गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाण्डौंको लागि सिफारिस माग गर्नुभएको थियो । नगर प्रमुख पुरीले पठाएको पत्रमा निजगढ नगरपालिकामा हालसम्म करिब ६० प्रतिशत नागरिकहरुको राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको र पालिकामा स्टेशन नहुँदा सोको लागि नागरिकले ईलाका प्रशासन कार्यालय सिमरासम्म धाउनुपर्ने बाध्यता र झन्झट बेहोर्दै आएको उल्लेख गर्नुभएको थियो ।



















