निजगढ,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का दलित समुदायले मदन भण्डारी आवास कार्यक्रम आफूहरुको घर निर्माणमा अवरोध सिर्जना गर्ने उद्देश्यले केही व्यक्तिहरुले नियोजित रुपमा षडयन्त्र गरिरहेको आरोप लगाएका छन ।मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै दलित हकहित अधिकार मञ्च जीतपुरसिमरा– १६ का अध्यक्ष राजकुमार पासवानले दलित बस्तिमा पक्की घर बन्न थालेपछि केही व्यक्तिहरु असहज बनेको र त्यसैको परिणाम स्वरूप निर्माण कार्यमा व्यवधान ल्याउने प्रयास भइरहेको बताउनुभयो ।
‘झुपडीमा जीवन बिताएका हामी जस्ता दलित समुदायले जब सम्मानजनक घर पाउन थाल्यौं, तब कसैको पेट दुख्यो,’ अध्यक्ष पासवानले भन्नुभयो, ‘विकासको काम बिगार्ने प्रयास गम्भीर सडयन्त्र हो, जसको पर्दाफास हुनु आवश्यक छ ।’
पानी चुहिने खरको झुपडीमा विगत धेरै वर्षदेखि बस्दै आएका टोलकै चौकीदार बुधन माझीले पक्की घर बन्न थालेपछि समुदायभित्र ठूलो खुसी छाएको बताउँदै केही मानिसहरुले आफूहरुको खुसी देख्न नसकेको गुनासो सुनाउनुभयो ।
यता पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेका सुरेश माझीले आफूलाई जानकारी नदिई मिडियामा प्रयोग गरिएको भिडियोमा ईँटा फुटाउन लगाइएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मलाई प्रयोग गरियो । मसँग सहमति लिइएन । यसले हाम्रो समुदायको छवि बिगार्न खोजिएको छ ।’
त्यसैगरी टोल विकास समितिका अध्यक्ष बृजकिशोर महतोले घर निर्माणको क्रममा केही प्राविधिक कमजोरी देखिए पनि त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘कमजोरी देखियो भने सच्यौं, तर काम नै रोक्ने या भत्काउने मनसायले हुने कार्यको हामी विरोध गर्छौं ।’ उहाँले भन्नुभयोे ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले भने नेकपा (एमाले) नेतृत्वको जनप्रतिनिधिहरुले गरेका विकास कार्यहरूलाई बदनाम गर्न नियोजित रुपमा अवरोध सिर्जना गरिएको आरोप लगाउनुभयो । ‘दलित बस्तीमा विकास भइरहेको छ, घर बनिरहेको छ, त्यसलाई स्वागत गर्नुको सट्टा केही व्यक्तिहरू बाधा पु¥याउनतिर लागेका छन,’ खरेलले भन्नुभयो, ‘यस्ता गतिविधि सह्य हुँदैन ।’
मधेस प्रदेश सरकारले गत वर्षदेखि लागु गरेको ‘विपन्नसँग मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत जीतपुरसिमरा– १६ को दलित तथा विपन्न समुदायका लागि २० वटा घर निर्माण भइरहेको छ ।ती घरमा प्रयोग गरिएका इँटा, बालुवा, गिट्टी अत्यन्तै कमसल रहेको भन्दै स्थानीय बासिन्दाको हवाला दिएर केही सञ्चार माध्यमहरुमा समाचार प्रकाशित भएपछि स्थानीय दलित अगुवाहरुले पत्रकार सम्मेलन नै गरेर मापदण्डअनुसार नै घर निर्माण भइरहेको बताएका हुन ।बर्सेनि बाढीको अत्यधिक जोखिम रहेको बालगंगा खोला छेउको जग्गामा निर्माण भएका घरहरूको जग एक फिटभन्दा पनि कम खनिएको र पिलरसमेत प्रयोग नगरिएको, कटिङ्ग गिट्टी प्रयोग गर्नुपर्ने ठाउँमा क्रसरले फ्याँकेको सिलकेट प्रयोग गरिएको पखालेको बालुवा प्रयोग गर्नुपर्नेमा बालगंगा खोलाबाट सिधै उठाएर ल्याएको माटोसहितको बालुवा प्रयोग भएको ती समाचार माध्यमले उल्लेख गरेका थिए ।


















