सिमरा,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल थाल्न अर्थमन्त्री रामेश्वर खनालसंग माग गरेको छ ।संघका अध्यक्ष मोहन शर्मा लामिछानेले अर्थमन्त्री खनाललाई ५ बुंदे ज्ञापन पत्र बुझाउदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसहित ठूला परियोजनाको काम चाढै सम्पन्न गरेर देशको समृद्धिका लागि पहल थाल्न पनि माग गर्नुभएको छ ।
पर्यटन तथा हवाई यातायात समिति, मधेश प्रदेश र नाटा मधेश प्रदेशका अध्यक्षसमेत रहनुभएका शर्मा लामिछानेले अर्थमन्त्री खनाललाई बुझाएको पत्रमा काठमाडौँ तराई द्रुतमार्गको निर्माण समयमै सम्पन्न गर्नका लागि समन्वयको आवश्यक्ता परेको अन्तर प्रदेश हवाई कनेक्टिभीटीमा मधेश प्रदेशका विमानस्थलहरुको उपयोग तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण थालनी गरी समग्र देशको समृद्धिका लागि पहल थाल्नुपर्ने बताइएको छ ।
पत्रमा सडक यातायातलाई सहज बनाउन र सडक सञ्जाललाई व्यवस्थित गर्न पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति तचा हुलाकी मार्ग एवं जनता सडकको निर्माण कार्य तीव्र बनाउन पनि माग गरिएको छ ।
पत्रमा भनिएको छ– ‘पर्साको ठोरीदेखि सप्तरीको कोशी टप्पुसम्मका पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना तयार गर्न आवश्यक छ । मधेशका पर्यटकीय क्षेत्रहरू ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक रूपमा समृद्ध छन् । यी क्षेत्रहरूमा पर्यटन प्रवद्र्धनका लागि विशेष पहल आवश्यक छ । यस क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण, प्रचार प्रसार एवं उचित नीतिगत व्यवस्थापनको खाँचो रहेको छ ।’
त्यसैगरी मधेशका किसानहरुको जीवनस्तर सुधार गर्नका लागि कृषिमा आधुनिकीकरण र वैज्ञानिकरण गरी सुरक्षित भण्डारण केन्द्र, शीत भण्डार तथा चिस्यान केन्द्रहरुको उपलब्धता जस्ता क्षेत्रमा काम गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
‘बारा पर्सा औद्योगिक करिडोरलाई औद्योगिक क्षेत्रको घोषणा तथा विशेष आर्थिक क्षेत्र सेज सिमराको प्रभावकारी सञ्चालन आवश्यक छ, पत्रमा भनिएको छ, यसबाट रोजगारी सिर्जना, औद्योगिक विकास र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा टेवा पुग्नेछ ।’
पत्रमा बारा र पर्साका उद्योगहरुले खेपिरहेको विद्युत समस्या समाधान, उद्योगमैत्री पुर्वाधारको निर्माण, मानवबस्ती र औद्योगिक क्षेत्रमा देखिने समस्याको दीर्घकालीन समाधान गर्न पनि माग गरिएको छ ।त्यसैगरी लामिछानेले मुलुकको प्रमुख भन्सारका रुपमा रहेको वीरगञ्ज भन्सार र बारा-पर्साका छोटी भन्सार कार्यालयहरुलाई व्यवस्थित बनाउन सरकारको पहल आवश्यक भएको भन्दै पत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ ।‘सरकारले गरिरहेको काम र सुरक्षा प्रभावकारी नबन्दा भन्सारबाट राजश्व चुहावटको समस्या व्याप्त छ । उद्योग तथा यहाँका व्यवसायमा भन्सारमा हुने गरेको चुहावटले ठूलो नोक्सानी पुगिरहेको अवगत गराउन चाहन्छु ।’ ज्ञापनमा भनिएको छ ।

















