गएको शुक्रवारदेखि देशभर भीषण वर्षा भइरहेको छ । वर्षाका कारण देशका विभिन्न भागमा व्यापक जनधनको क्षति पनि भएको छ ।दुई दिनकै अन्तरालमा दुई दर्जनभन्दा बढी नागरिकहरुको अकालमा ज्यान गएको छ भने अरबौंका भौतिक संरचनाहरु ध्वस्त बनेका छन ।करिब एक हप्ता अघिसम्म पानी नपरेर आकाशतिर हेर्न बाध्य नेपालीहरुले दुई दिनको वर्षाले निकै सास्ती खेप्न बाध्य छन । पानी परेर भने खडेरीले बालीनाली नफल्ला भन्ने चिन्ता, पानी परेपछि बाढी, पहिरो तथा डुबानले समस्या । यो नेपाली जनताले वर्षौदेखि भोग्दैआएको नियति हो ।
यस पटकको वर्षाका कारण देशको सबैजसो भागमा असर गरेको छ र जनजीवन प्रभावित भएको छ तर नेपालमा जनताका प्रतिनिधिहरुले भने नागरिकहरुको कुरा उठान गरेको भने सुनिदैन ।आइतवारको मात्रै कुरा गरौं न, संसदमा अहिले जनताले भोग्नुपरेको बाढी पहिरो र डुवानको समस्या बारेमा कसैले पनि कुरा उठाएनन् । सदन भनेको जनताले आफ्नो मत दिएर पठाएका प्रतिनिधिहरुले जनताको समस्याबारेमा बोल्ने ठाउँ हो । प्रतिनिधि सभामा त कम्तीमा नागरिकहरुको दैनिकका विषयमा कुरा उठान र बहस हुनुपर्ने थियो तर त्यहाँ त सरकार र सत्ता परिवर्तनभन्दा बाहिरको कुरा कसैले पनि गरेको सुनिएन । उनीहरुले सदनमा हातै हालौंका कि जसरी बोलेका थिए तर त्यो सरकार र सत्ताको विषयमा भएको थियो, जनताको पक्षमा कुनै कुरा भएनन् ।
बरु एकथरी सांसदहरु प्रचण्डले राजिनामा दिनपर्छ भनेर कुर्ली रहेका थिए भने अर्को थरी प्रचण्डले किन राजिनामा दिने भन्दै नाडी निमोठ्दै गरेको देखिन्थ्यो । अहिले जो प्रधानमन्त्री भएपनि नेपाली जनताका लागि भने खासै फरक पर्नेवाला पनि छैन । किन भने अहिले जब संसदमा नै जनताको पक्षमा कुरा हुने गर्दैन भने सरकारले चाही के पो गर्ला र । त्यसमा पनि अहिले हुन लागेको सरकारको परिवर्तन जनताको लागि नभएर आआफ्ना स्वार्थ पूरा गर्नका लागि मात्रै हुन । यस्तो अवस्थामा जुनसुकै सरकार आएपनि जनतालाई भने केही पनि दिन नसक्ने निश्चित छ । सधै अस्थिर हुने सरकारले आफ्नो कुर्सी जोगाउने बाहेक आखिर जनतालाई के नै पो दिन सक्छ र ?