निजगढ,निजगढ नगरपालिका– ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा (रजत वर्ष) को अवसरमा आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरमा ४५८ जनाको आँखा परीक्षण तथा औषधि वितरण गरिएको छ ।हिजो बिहान ८ बजेबाट विद्यासागर इङ्लिश बोर्डिङ स्कूल, निजगढ– ७ मा सुरु भएको शिविरमा हिमाल आँखा अस्पताल, विराटनगर र कोशी आँखा अस्पताल, सुनसरीले प्राविधिक सहयोग गरेका थिए ।

शिविरमा परीक्षण गराएका मध्ये ९० जनामा मोतिविन्दुको समस्या पाइएको डा. प्रमोद शर्मा गौतमले जानकारी दिनुभयो । स्थानीय बासिन्दा, वृद्धवृद्धा, विद्यार्थी र बालबालिकासहितले शिविरमा आँखा जाँच गराएका थिए ।
शिविरमा गौरीशंकर माध्यमिक विद्यालयका स्काउट विद्यार्थीहरूले स्वयंसेवकको रुपमा खटिएका थिए । संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमका अनुसार सहकारीले रजत वर्षको अवसरमा विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गरेको बताउनुभयो

शिविरमा हिमाल आँखा अस्पतालका अध्यक्ष राम सेवक साह, हस्पिटल डाइरेक्टर अमन साह, मेडिकल डाइरेक्टर डा. प्रमोद शर्मा गौतम, कोर्डिनेटर विन्देश्वर साह, ओपिडी इन्चार्ज राम प्रकाश महतो, ओटी इन्चार्ज गहेन्द्र कार्की, अप्टोमेट्रिष्ट सत्यजित सिंह र अप्टीसियन मुन्नू खान लगायतको सहभागिता थियो ।त्यसैगरी सहकारी संस्थाले शुक्रवार नगरस्तरीय हाजिरीजवाफ, चित्रकला र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा नगरभरिकै विद्यालयहरूबाट सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । हाजिरीजवाफ र वक्तृत्वकला दुवै विधामा निजगढ– ७ स्थित बिद्यासागर ईङ्लिस बोर्डिङ स्कूलले पहिलो स्थान हासिल गरेको छ । हाजिरीजवाफतर्फ निजगढ –५ स्थित श्री सार्वजनिक माध्यमिक विद्यालय दोस्रो र निजगढ– ७ स्थित नेत्रोदय माध्यमिक विद्यालय तेस्रो भएका छन् ।

चित्रकला प्रतियोगितामा पनि विद्यासागर ईङ्लिस बोर्डिङ स्कूल पहिलो भएको छ भने जनज्योति आधारभूत विद्यालय (निजगढ–७) की छात्रा प्रनिका मोक्तान दोस्रो र निजगढ– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका छात्र मुस्कान यादव तेस्रो भएका छन् । वक्तृत्वकला प्रतियोगितातर्फ विद्यासागर ईङ्लिस बोर्डिङ स्कूलकी छात्रा सुश्रीका अधिकारी पहिलो, गौरीशंकर माध्यमिक विद्यालय निजगढ– ६ का छात्र गौतमकुमार साह दोस्रो र नेत्रोदय माध्यमिक विद्यालय निजगढ– ७ का विजय बि.क.तेस्रो भएका छन् ।

कार्यक्रमको निर्णायक मण्डलमा निजगढ नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि प्रदीप ढकाल, गौरीशंकर क्याम्पसका प्राध्यापक गोविन्द अधिकारी र शिक्षक जीवनकुमार काफ्ले रहेका थिए । कार्यक्रम सञ्चालन सहकारीका सचिव बोधनाथ चौलागाईंले गर्नुभएको थियो ।

सगरमाथा साकोस २०५७ साल कार्तिक २४ गते स्थानीय शिक्षकहरूको नेतृत्वमा स्थापना भएको सहकारी हो । स्थापना यताका वर्षहरूमा सहकारीले शिक्षा, स्वास्थ्य, स्वावलम्बन र सामाजिक सचेतनामा महत्वपूर्ण कार्य गर्दै आएको अध्यक्ष गौतमले बताउनुभयो । संस्थाले आगामी दिनहरूमा पनि समुदाय केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply