मनोज साह
जीतपुर,बारा जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष दिलबहादुर लामाले शुक्रवार एक विशेष कार्यक्रमबीच पदभार ग्रहण गर्नुभएको छ ।पदभार ग्रहण कार्यक्रममा बारा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख हेमलाल श्रेष्ठलगायत विभिन्न खेल क्षेत्रका प्रमुखहरू र जिल्ला स्तरका विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा नेपाल सितोरियो सोबुकान कराते मधेश प्रदेश समितिको तर्फबाट अध्यक्ष लामालाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । समितिका प्रतिनिधिहरूले उहाँको नेतृत्वमा जिल्लाको खेलकुद क्षेत्रमा नयाँ जोश, उत्साह र विकासको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन् ।कार्यक्रममा बोल्दै खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष लामाले खेलकुदलाई जिल्लाको गौरव र सामाजिक एकताको माध्यमका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खेलाडीहरूको क्षमता अभिवृद्धि, खेल पूर्वाधार निर्माण र पारदर्शी व्यवस्थापनमा विशेष ध्यान दिने बताउनुभयो ।एमाले कार्यकर्ता लामालाई मधेस खेलकुद परिषदले डेढ महिनाअघि जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्ति गरेको हो ।



















