सिम्रौनगढ,बाराको आदर्श कोतवाल गाउँपालिकामा भ्रष्टाचार र अनियमितताविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएका युवाहरुले आजबाट अनिश्चितकालिन बन्दको आह्वान गरेका छन ।भ्रष्टाचार विरोधी स्थानीय अभियन्ताहरू प्रदीप कुशवाहा र डिके सिंह (दिवेश सिंह)लाई गाउँपालिकामा आगजनी गरेको मुद्दामा पक्राउ गरिएपछि स्थानीय युवाहरूले पालिकामा बन्द घोषणा गरेका हुन । यसअघि स्थानीय युवाहरुको एउटा समूहले कुशवाहा र सिंहको रिहाइको माग गर्दै हिजो पनि च्युटाहा बजार क्षेत्रमा प्रदर्शनसमेत गरेका थिए ।

शंभावित सुरक्षा जोखिमलाई ख्याल गरेर पालिका कार्यालय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
आन्दोलनरत युवाहरूले आज प्रेस विज्ञप्ति निकालेर बन्दको आह्वान गरेका हुन । विज्ञप्तिमा गाउँपालिकाको स्वास्थ्य शाखाबाहेक सम्पूर्ण सरकारी कार्यालय, निजी तथा सार्वजनिक विद्यालय र व्यवसायहरू अनिश्चितकालसम्मको लागि बन्द गर्न भनिएको छ ।

आन्दोलनकारी युवाहरुका अनुसार गाउँपालिकाले गत भदौ २७ गतेदेखि जडान गरेको सडक बत्ति खरिदमा भ्रष्टाचार र अनियमितताभएकोभन्दै अनियमितताको छानविन गर्नुपर्ने माग राखेर युवाहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । आन्दोलन शान्तिपूर्ण रहे पनि गाउँपालिकाका केही कर्मचारी र प्रतिनिधिहरूको मिलेमतोमा लेखा शाखामा आगो लगाएर उल्टै युवा अभियन्ताहरूलाई फसाउन खोजेको आन्दोलनकारीहरुको आरोप छ ।

आगजनी घटनालाई बहाना बनाएर अभियन्ता कुशवाहा र सिंहमाथि मुद्दा लगाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “गाउँपालिका अध्यक्ष जवाहर साहले दादागिरी र भ्रष्टाचारविरुद्ध बोल्नेहरूलाई आफ्नो पैसा र पावरको बलमा जे पनि गर्ने प्रयास गरेका छन्, जुन सहनयोग्य छैन ।” वर्षौँदेखि पालिकाले कम गुणस्तरका बल्ब खरिद गरी केही दिनमै बिग्रिने अवस्था सिर्जना गर्ने, युवाहरूले गरेको गुणस्तरीय स्ट्रिट लाइट जडान गर्नुपर्ने मागलाई बेवास्ता गर्ने, भेटघाट र वार्तासम्म नगरी तिरस्कार गर्ने जस्ता कार्यले युवाहरू तालाबन्दी गर्न बाध्य भएको दाबी गरिएको छ ।

गाउँपालिकामा भएको आगजनीलाई अनियमितताको प्रमाण नष्ट गर्ने षड्यन्त्रको रूपमा चित्रित गर्दै विज्ञप्तिमा गाउँपालिका अध्यक्ष जवाहर साह र केही वडा अध्यक्षको दबाबमा प्रहरीले अभियन्ताहरूलाई पक्राउ गरी म्याद थप्नु भ्रष्टाचार ढाकछोप गर्ने प्रयास भएको उल्लेख छ । “यो लोकतन्त्रमाथिको खुल्ला प्रहार हो,” विज्ञप्तिमा भनिएको छ ।
बन्द आह्वानकर्ता युवाहरुले बारा जिल्लाबासी, आदर्श कोतवालबासी सर्वसाधारण, स्थानीय राजनीतिक दलका प्रतिनिधि र सामाजिक अभियन्ताहरूसँग न्यायपूर्ण आन्दोलनमा सहयोगको अपेक्षा राखिएको जनाएका छन । उनीहरुले माग पूरा नभएसम्म बन्द जारी रहने चेतावनी पनि दिएका छन ।

Leave a Reply