वीरगन्ज,नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउने भएको छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले व्यापक रुपमा विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।

प्राधिकरणले मुख्य रुपमा उद्योगहरुलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ ।

प्राधिकरणले तराई क्षेत्रमा विद्युत लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४ सय केभी प्रसारण लाइन निर्माणको अवधारण अगाडि बढाएको छ । सिमरा र वीरगन्ज क्षेत्रका उद्योगहरुको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगहरुलाई थप विद्युत आपूर्ति दिन सकिने छ ।

निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सब स्टेसन बनाउन लागिएको छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाटसम्म थप विद्युत दिन सक्ने देखिएको छ । सिमरास्थित अशोक स्टिललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभीए क्षमताको ट्रान्सर्फमर राखेकोले सोही क्षमता अनुसार विद्युत् दिन सकिने छ । ट्रान्सर्फमर थप गरेपछि उद्योगले मागेजति विद्युत दिन सकिनेछ ।

सिमराकै जगदम्बा स्टिलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत आपूर्ति दिन सकिने बताइएको छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत उपलब्ध गराइने छ ।

त्यसैगरी परवानीपुरको हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेसनबाट तत्काल विद्युत दिन सकिने छ । नारायणी इस्पातलाई २०.५ मेगावाट विद्युत आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जीआईएस) भइरहेको छ ।

बाराको सियरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल विद्युत दिन सकिने छ । सेजमा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी लाइन विस्तार तथा सबस्टेसन निर्माण गर्न लागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here