निजगढ,बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनाली र प्रदेश सभा क का उम्मेदवार त्रिलोकी चौधरीले बिहीवारबाट निजगढमा चुनावी घरदैलो सुरु गरेका छन । एमाले उम्मेदवार मैनाली र चौधरीले बिहीवार निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ को सिंगौलमा घरदैलो गरेका हुन । एमालेको टोलीले निजगढ वडा नम्बर ७ को भमरादेखि लच्कासम्मको क्षेत्रमा पनि घरदैलो पुरा गरेको छ । नेता पुरुषोत्तम पौडेललगायत नेकपा एमालेका नेता, कार्यकर्ता र ठुलो संख्यामा स्थानीयको समेत सहसभागिता रहेको थियो ।

सिगौंलको घरदैलो कार्यक्रममा एमाले उम्मेदवार मैनाली र चौधरीलाई मतदाताले फूलमाला र अवीर लगाएर स्वागत गरेका थिए । घरदैलो कार्यक्रमपछि उत्साह थपिएको र स्थानीयले एमालेको पक्षमा मतदान गर्ने निजगढ नगरपालिका वडा नम्बर २ का गोकर्ण थापाले बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा एमालेको बिग्रेको माहोलमा यसपटक भने सुधार भएको बताउनुभयो ।

यसअघि प्रदेश सभा ख अन्तरगत पर्ने सिम्रौनगढ नगरपालिका, आदर्शकोतवाल र बारागढी गाउँपालिकामा घरदैलो पुरा गर्नुभएका एमाले उम्मेदवार मैनालीले बिहीवारबाट निजगढ नगरपालिकामा चुनावी घरदैलो सुरु गर्नुभएको हो । एमालेले शुक्रवार निजगढ नगरपालिका वडा नम्बर ९ र ७ मा घरदैलो गर्ने कार्यक्रम रहेको चुनाव प्रचार समितिका सुदर्शन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार चुनाव प्रचारको समय कम भएकोले एमालेले ४ दिनभित्र निजगढको घरदैलो पुरा गर्ने गरी समय तालिका निर्धारण गरेको पनि जानकारी दिनुभयो । निजगढको घरदैलो पुरा भएपछि एमाले उम्मेदवार मैनाली र चौधरीले कोल्हबी नगरपालिकामा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच प्रदेश सभा क का स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठले पनि शुक्रवार कोल्हबी नगरपालिका र बारागढी गाउँपालिकाका विभिन्न गाउँमा घरदैलो र मतदाता भेटघाट गर्नुभएको छ । जागरण अभियान नाम दिएको श्रेष्ठको टोलीले कोल्हबी नगरपालिकाको सपही, जुगुवा, सखुइ, सोनाभार, प्रगति नगर र थलीकट्टीमा घरदैलो गरेको प्रचार संयोजक गोपाल लम्सालले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवार श्रेष्ठको टोलीले शनिवार शनिवार बारागढी गाउँपालिकाको बिसनपुर्वा, दौरवा, खोपवा र श्रीपुरमा घरदैलो गर्ने कार्यक्रम रहेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here