कलैया,नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२ प्रतिशत प्रतिनिधि सहभागी भएर नाम दर्ता गराएका हुन् ।विशेष महाधिवेशनको सचिवालयले साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार, २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।
जस अनुसार, कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यका १७८ र भ्रातृ, शभेच्छुक र जनसम्पर्क गरेर १९५ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका हुन् ।
विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौंमा सम्पन्न भइसकेको छ । भोलि बिहान १० बजेबाट बन्दसत्र सुरु हुने जानकारी गराइएको छ ।
आइतबार बिहान ८ बजेदेखि नै प्रतिनिधिहरूले नाम दर्ता गराइरहेका छन् । नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । कांग्रेसमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि छन् ।
असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएको थियो । संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए ।यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा बाहिर देखिएजस्तो झगडा नभएको बरु त्यो विचारको सङ्घर्ष रहेको बताउनुभएको छ ।पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कतिपयलाई अहिले कांग्रेसमा झगडा वा शक्तिको सङ्घर्ष चलिरहेको जस्तो लागे पनि यो शक्तिको सङ्घर्ष नभइ विचारको सङ्घर्ष रहेको दाबी गर्नुभयो ।
थापाले उहाँले भदौ २३ र २४ गतेको आन्दोलनमा नवयुवाहरूको नभइ देशभरका लाखौँ लाख नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ’राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन् । र आमनागरिकको त्यो रिस जेनजी आन्दोलनका क्रममा सडकमा पोखिएको हो ।’
विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी होऊन् भन्ने आफूहरूले चाहेको महामन्त्री थापाले उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न नसकिने बताउनुभएको छ । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताउनुभयो ।हिजोभन्दा आज कांग्रेसले आफूभित्रको चुनौतीको सामना गरिरहेको भन्दै महामन्त्री शर्माले पार्टीको अबको नेतृत्वमा नजिकै रहेको नाताले महामन्त्री गगन थापा र आफू जाने बताउनुभयो । उहाँले आउँदा दिनमा आफूहरू नवयुवाले मागेको सुशासनको मागलाई समेत पूरा गर्ने ल्याकत राख्ने उल्लेख गर्नुभयो ।
शर्माले भन्नुभयो ’तपाईंहरूले माग्नु भएको थियो सुशासन । हामीले त्यसैका लागि सङ्कल्प गरेका हौँ । अनि हामी जमेर बसेको पोखरीजस्तो भएर बसेको नेतृत्वलाई पनि बगेर जानुपर्छ भनेर सन्देश पनि बुझाउने ल्याकत राख्दछौँ ।’



















