निजगढ,राजपुर बमकाण्डमा छोराको ज्यान गुमेपछि न्यायको लागि अदालतमा करिव २ दशकसम्म अनुनयविनय गर्दैआउनुभएका श्रीनारायण सिंह राजपुत यतिबेला न्यायाधीशविरुद्ध नै कारबाहीको माग गर्दै न्याय परिषदको ढोका ढकढकाउन पुग्नुभएको छ ।
२०६४ सालमा रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा छोरा त्रिलोकप्रताप सिंह ‘पिन्टु’ गुमाउनुभएका राजपुतले सोमवार उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि गम्भीर आरोप लगाउँदै कारबाहीको लागि न्याय परिषदमा उजुरी दिनुभएको हो । उहाँले न्यायाधीशहरूले मुद्दाका महत्वपूर्ण प्रमाणहरूलाई बेवास्ता गर्दै प्रमुख अभियुक्त मोहम्मद अफ्ताब आलमलाई सफाइ दिएको उजुरी पत्रमा उल्लेख गर्नुभएको छ ।राजपुतका अनुसार, मुद्दासँग सम्बन्धित झण्डै १२०० पृष्ठको मिसिल, प्रत्यक्षदर्शीको बकपत्र, घटनास्थलका प्रमाण, मानव अधिकार आयोग र बार एशोसिएसनको स्थलगत अध्ययन रिपोर्टजस्ता बलियो प्रमाणहरू हुँदाहुँदै केवल ४ घण्टामा फैसला सुनाएर अभियुक्तहरूलाई उन्मुक्ति दिइएको हो।
यसअघि रौतहट जिल्ला अदालतले अफ्ताब आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालतमा मुद्दाको पुनरावलोकन गर्दा सोही घटनालाई नै अस्वीकार गरिएको भन्दै उहाँले न्यायको गम्भीर अपमान भएको दाबी गर्नुभएको छ ।
राजपुतले न्यायाधीशहरूकै मिलेमतोमा सुनुवाइ प्रक्रिया प्रभावित भएको र आर्थिक चलखेल भएको आशंकासमेत उल्लेख गर्नुभएको छ । उजुरीमार्फत उहाँले दोषी ठहरिएका न्यायाधीशहरूलाई तत्काल निलम्बन गरी संविधान तथा न्याय परिषद ऐनअनुसार अनुसन्धान र कडा कारबाही गर्न माग पनि गर्नुभएको छ ।अफ्ताब आलमविरुद्धको मुद्दामा न्याय नपाएको भन्दै १८ वर्षदेखि न्यायको खोजीमा संघर्षरत राजपुतले अन्ततः न्याय प्रणालीमै प्रश्न उठाउँदै न्यायालयभित्रैको शुद्धिकरणको माग गर्नुभएको छ । सौजन्य तस्बिर


















