जनकपुरधाम,मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने हुनुभएको छ ।मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने बताउनुभएको छ । संविधानको धारा १६८ को उपधार (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री यादवले साँझ साढे ५ बजे मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर बुधबार अदालतले भने अनुसारको २४ घण्टाभित्र विश्वासको मत लिन लागेको बताउनुभयो ।मुख्यमन्त्री यादवले भन्नुभयो, ‘मलाई अदालतको पत्र आधिकारिक रूपमा हालसम्म प्राप्त भएको छैन । तर, मैले प्रदेश प्रमुखको कार्यालयबाट स्वयं फोन गरेर अदालतको आदेशको प्रतिलिपि मगाएको छु । सोही अनुसार मैले प्रदेशसभालाई दिउँसो ३ बजे विश्वासको मतको लागि समय मागेको छु । उपसभामुखज्यु, अहिले काठमाडौंमा हुनुहुन्छ, उहाँ आएपछि बाँकी कहिले बैठक बोलाउने ? कुन समयमा बैठक डाक्ने र कहिले विश्वासको मतका लागि वातावरण बनाउनुहुन्छ, त्यो उहाँको विषय हो ।’
पत्रकारहरूको जिज्ञासामा मुख्यमन्त्री यादवले आफूलाई सबै दलले विश्वासको मत दिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘दलहरूसँगको वार्ता सकारात्मकरूपमा अघि बढिरहेको छ । विश्वासको मत पाउँछु, त्यसमा म विश्वस्त छु । एकाध दलबाहेक सबै दल सकारात्मक छन् । त्यसैले म विश्वासको मत पाउनेमा ढुक्क छु ।’यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेसका संसदीय दलका नेता जयनुल राइनले जितेन्द्र सोनल नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने बताउनुभएको छ ।
सर्वोच्चको परमादेश अनुसार आजै साँझ २४ घण्टाभित्र मुख्यमन्त्रीलाई विश्वासको मतका लागि दिइएको समयसीमा समाप्त भएको र अब नयाँ सरकार गठनका लागि आह्वानका लागि प्रदेश प्रमुखलाई भेटेर आग्रह गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीजी विश्वासको मत लिनसक्ने स्थिति देख्दिनँ, समयसीमा पूरा भएलगत्तै हामी ७ दलका साथीहरु सरकार निर्माणका लागि पहल थाल्ने छौँ ।’७ दलभित्र लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने सहमति भएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘तर यो बिचमा कांग्रेसको दावी पनि आइरहेको छ, बैठक बसेर हामी समझदारी खोज्ने प्रयास गर्नेछौँ ।’



















