राजन कुमार बानिया
पोखरिया,
पर्साको कालिकामाई गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड निर्धारण समीक्षा गोष्ठी आइतवार सम्पन्न भएको छ ।
गाउँपालिका वडा नम्बर ५ पशुरामपुरको स्वास्थ्य चौकीमा सम्पन्न गोष्ठीमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक योगेन्द्र चौरसियाले नेपाल सरकारबाट स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा संचालनका सुसाशन व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन र स्वास्थ्य चौकी सहयोग सेवा व्यवस्थापनमा क्रमश ७४, १७२ र ८७ मापदण्ड निर्धारण गरेकोमा सो स्वास्थ्य चौकीले पहिलोमा ३८, दोस्रोमा १६३ र तेस्रोमा २८ अंक प्राप्त गरि कुल ६२ प्रतिशत अंक हासिल गरेको जानकारी दिनुभएको थियोे ।
समीक्षा गोष्ठीमा उहाँले स्वास्थ्य चौकीको समस्या बारे र व्यवस्थापन सम्बन्धि जानकारी गराउनुभएको थियो । समीक्षा गोष्ठीबाट तिन सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ ।वडा अध्यक्ष संजय साह गोढको अध्यक्षतामा भएको सो कार्यक्रममा जनप्रतिनिधि, स्थानीय र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियोे । समीक्षा गोष्ठीमा स्वास्थ्य सहसंयोजक महेन्द्र चौरसिया, वडा सचिव सन्देश यादव, रामजीप्रसाद चौहान, नन्दलाल दास, बिनोदप्रसाद, यमुनाप्रसाद चौरसिया, बलजित साह, फुलिया देबी राजपुत, रिना देबी, सिमा चौरसिया, शोभा चौरसिया र संचारकर्मीहरुको सहभागी रहेको थियोे ।

















